एक वर्षभित्र संविधान जारी हुन्छ : मन्त्री रिजाल

काठमाण्डु टुडे २०७० फागुन १९ गते १२:१० मा प्रकाशित

minendra-rijalभक्तपुर, १९ फागुन – सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले एक वर्षभित्र नयाँ संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरले सोमबार आयोजना गरेको  पत्रकार सम्मान कार्यक्रममा  मन्त्री रिजालले राजनीतिक दलहरुले एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता गरेकाले निर्धारित समयमै संविधान जारी हुने बताए ।

संविधानसभाको नियमावली निर्माणमा भएको अलमलले संविधान निर्माणमा असर नपर्ने भन्दै उनले नयाँ संविधान कसले प्रमाणीकरण गर्ने भन्ने विवाद छिट्टै समाधान हुने आशा व्यक्त गरे ।

मन्त्री रिजालले पत्रकारको हक हित र सुरक्षाको लागि सक्दो काम गर्ने बताउँदै पत्रकारलाई सञ्चारगृहले लामो समयसम्म करारमा राख्न नहुने धारणा राखे ।
पत्रकारितामा लामो समय काम गर्नेलाई सरकारले विशेष प्याकेज ल्याउने उनको प्रतिबद्धता थियो ।

महासङ्घ भक्तपुरका सल्लाहकार एवम् पत्रकार कविर राणाले अझै मिसन पत्रकारिताको खाँचो रहेको औँल्याउँदै लोकतन्त्रको स्थायित्वबाट मात्र सञ्चार जगतले स्वतन्त्र ढङ्गले कार्य गर्न सक्ने विचार राखे ।

महासङ्घका केन्द्रीय सल्लाहकार पोषण केसीले महासङ्घको वर्तमान नेतृत्वले पेसागत छाता सङ्गठनभन्दा पनि अमुक पार्टीको भातृसंस्थाको रुपमा लान खोजेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us