एक वर्षमा संविधान मेरो प्रमुख दायित्व : नेम्वाङ

काठमाण्डु टुडे २०७० फागुन ७ गते १२:२९ मा प्रकाशित

Nembangकाठमाण्डु, ७ फागुन – संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र संविधान निर्माण गर्न आफ्नोतर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

राष्ट्रपति डा रामवरण यादवसँग पद तथा गोपनीयताको शपथ लिएपछि आफ्नो कार्यकक्ष सिंहदरबारमा पदभार ग्रहण गर्दै नेम्वाङले दलहरुले जनताका सामु गरेको प्रतिबद्धताअनुरुप संविधान लेखन प्रक्रियालाई पूर्णता दिनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

अघिल्लो संविधानसभाले महत्वपूर्ण काम सम्पन्न गरिसकेको भन्दै नेम्वाङले बाँकी रहेका काम पूरा गर्नका लागि आफूले राजनीतिक दलका नेताहरुसँग संवादको प्रक्रिया अगाडि बढाउने र त्यसबाट सकारात्मक नतिजा निस्कने विश्वास व्यक्त गरे ।

संविधानसभाको उपाध्यक्ष चयन गर्न बाँकी रहेको र सो काम तत्काल सम्पन्न हुने नेम्वाङको भनाई छ । साथै उनले नियमावली मस्यौदाको काम सुरु गर्ने र तोकिएकै समयमा पूरा गरिने दावी गरे ।

‘दलहरुको कमजोरीका कारण अन्तरिम संविधानको मर्म र भावनाविपरीत कतिपय सन्दर्भमा काम भएको हो,’ नेम्वाङले भने, ‘विगतको गल्तीबाट दलहरुले पाठ सिक्नेछन् र जनताको सामु गरेको प्रतिबद्धतालाई केन्द्रबिन्दुमा राखेर काम गर्छन् भन्ने विश्वास पैदा भएको छ ।’

अघिल्लो संविधानसभाले गरेको काम कारबाहीको स्वामित्व लिने विषयमा दलहरु सहमत भएको कारण यस पटक धेरै सहज रुपमा संविधान लेखन प्रक्रियाले गति लिने नेम्वाङको तर्क छ ।

सभाध्यक्ष नेम्वाङलाई संसद् सचिवालयका उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us