गृह नपाए सरकारमा जाँदैनौं : एमाले सचिव

काठमाण्डु टुडे २०७० फागुन ७ गते १२:२५ मा प्रकाशित

uml officeकाठमाण्डु,  ७ फागुन – नेकपा एमालेका सचिव युवराज ज्ञवालीले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुने बताएका छन् ।

संवाद क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले गृह नपाए सरकारमा नजाने बताएका हुन् ।

उनले भने, ‘लिखित सम्झौता नगर्नु कमजोरी हो, तर एमालेलाई गृह मन्त्रालय दिने बारेमा अलिखित सहमति भएको हो भनेर काँग्रेसका जिम्मेवार नेताहरु बोलिरहेको अवस्थामा केही नेताले होइन् भन्नु एमाले प्रति सिधै धोका हो ।’

एक वर्षभित्रमा संविधान निर्माणका लागि काँग्रेस र एमाले मिल्नुको विकल्प नभएपनि राष्ट्रपति, प्रधानमन्त्री, गृह र अर्थलगायतका मन्त्रालय काँग्रेसलाई दिएर सरकारमा नजाने ज्ञावालीको भनाई  ।

यदि जाने नै भए पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई नै सम्मानजनक ढङ्गबाट उपप्रधान तथा गृह मन्त्रालय दिनुपर्ने ज्ञावालीको माग छ । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सातबुँदे सहमतिबाहेक गृहमन्त्रालय (एमाले) लाई दिने बारेमा कुनै सहमति नभएको दाबी गरे ।

यस्तै एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले एक वर्षभित्रमा संविधान निर्माणका लागि पनि काँग्रेसले ठूलो पार्टी भएको हैसियतले सबै दललाई समेटेर लैजानुपर्ने भन्दै एमाले र काँग्रेसबीचको गृह विवाद समाधान गरी सरकारलाई पूर्णता दिन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो पटक देखिएको सत्ता सङ्घर्षले विगतको नियति दोहोरिएका कारण एक वर्षभित्रमा संविधान नबन्ने खतरा देखिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us