एमाओवादीलाई पाखा नलगाउन भारतको सुझाव

काठमाण्डु टुडे २०७० फागुन ४ गते १६:४० मा प्रकाशित

काठमाण्डु ४ फागुन– भारतको राज्य सभाका सदस्य तथा भारतीय राष्ट्रिय कंग्रेसका अन्तराष्ट्रिय विभाग प्रमुख डा. करण सिंहले एकीकृत माओवादीलाई संबिधान निर्माण प्रक्रियाबाट पाखा नलगाउन प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका छन । Karan singh

प्रधानमन्त्री कोइरालासँग आइतवार सिंहदरबारमा भएको भेटमा सिंहले संबिधान निर्माण र शान्ति प्रक्रियालाई पूर्णता दिने बिषयमा एमाओवादीसँग सहकार्य गरेर अगाडि बढन सिंहले सुझाव दिएका हुन ।
संबिधानसभाको अध्यक्षमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई काँग्रेसले समर्थन गर्ने सहमति प्रति लक्षित गर्दै सिंहले त्यस्तो सुझाव दिएको स्रोतले बताएको छ । सिंहले शनिवार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।
‘तपाईको नेतृत्वले आशाको सञ्चार गराएको पाएको छु । तपाइको नेतृत्वमा नयाँ संविधान जारी गर्ने सफलता मिलोस । शान्तिप्रकृया निष्कर्षमा पुग्न सकोस्’सिंहको भनाई उदृत गर्दै प्रधानमन्त्री कोइरालाको नीजि सचिवालयले भनेको छ । डा. सिंहले  संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा व्यापक जनसहभागितामा सम्पन्न भएकोमा भारत खुशी भएको बताउनु भएको थियो । उनले संविधानसभाको चुनाव परिणामबाट आफू अत्यन्त उत्साही भएको पनि बताएका थिए ।
भेटवार्तामा नेपाल र भारतको आपसी हित र सहयोग, संविधानसभाको निर्वाचन र सरकार गठन प्रकृया,संविधानसभाबाट संविधान निर्माण गर्ने प्रकृया र आपसी हितका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचनको नजिता आएदेखि नै आफनो पार्टीले राजनीतिक संवाद, सहकार्य र राष्ट्रिय सहमतिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराएका थिए । काँग्रेस अझैपनि दलहरुको सहभागितामा सरकार बनाएर राजनीतिक स्थायित्व दिदैं एक बर्षमा लोकतान्त्रिक संविधान ल्याउने लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री कोइरालाले बताएका थिए ।
भेटका अवसरमा डा.सिंहले शान्त, स्थिर, प्रजातान्त्रिक र समृद्ध नेपाल नै भारतको चाहाना रहेको दोहोरयाएका थिए । भेटमा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा कोइरालालाई डा. सिंहले बधाई ज्ञापन गर्दै सिंहले कार्यकालको सफलताको कामना पनि गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us