काँग्रेस–एमाले झगडाले माओवादीलाई फाइदा

काठमाण्डु टुडे २०७० फागुन ४ गते ४:१९ मा प्रकाशित

काठमाण्डु, ४ फागुन– प्रमुख सत्ता साझेदार काँग्रेस र एमालेबीच गृह मन्त्रालय विवाद उत्कर्षमा पुगेका बेला काँग्रेसले संविधानसभा अध्यक्षमा congress-maoist flagएकीकृत माओवादीलाई सघाउने संकेत देखिएको छ ।
गृह मन्त्रालय नपाए सरकारमा नजाने एमालेको अडान र गृह मन्त्रालय कुनै हालतमा दिन नसक्ने काँग्रेसको अडानका कारण सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमति धरामा परेपछि संविधानसभाको तेश्रो दल माओवादीले सभाध्यक्ष पाउने सम्भावना देखिएको हो ।

स्रोतका अनुसार एकीकृत माओवादीले सरकारलाई समर्थन जनाए काँग्रेस सभाध्यक्ष माओवादीलाई दिन राजी भएको छ । एमालेसँगको सम्बन्ध चिसिँदै गएपछि काँग्रेस एकीकृत माओवादीसँग नजिकिएको हो ।
शनिबार भएको भेटमा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले सहयोग गर्न एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले मुलुक संकटमा पर्ने अवस्था आए सहयोग गर्न सकिने बताएका थिए । प्रतिपक्षमा बस्ने बताएको एमाओवादीले संविधानसभा अध्यक्षमा भने आफ्नो दावेदारी प्रस्तुत गर्दै आएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादीसहित प्रधानमन्त्री निर्वाचनका बेला कोइरालाको विपक्षमा मतादन गरेका मधेसवादीसहित साना दलले समर्थन गरे काँग्रेसको पक्षमा बहुमत पुग्छ ।

शनिबारको भेटमा सभापति कोइरालाले एमाले पछि हटेको अवस्थामा विपक्षी गठबन्धनमा रहेका दलहरुको समर्थन समेत आफ्नो पक्षमा जुटाइदिन प्रचण्डलाई आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us