खासा लगेर एक लाखमा मान्छे बेचेपछि

काठमाण्डु टुडे २०७० फागुन २ गते १:२६ मा प्रकाशित

pakrau-arrestचौतारा, २ फागुन – सिन्धुपाल्चोकको हगाम–८ निवासी २४ वर्षीय भीमबहादुर तामाङलाई खासामा एक पुरुषलाई बिक्री गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

बर्दिया जिल्ला बनियाँभार–१ निवासी २८ वर्षीय भुरे थारूलाई राम्रो काम मिलाइदिने प्रलोभन देखाई गत पुस २५ गते चीनको खासामा लगी एक लाख रुपैयाँमा बिक्री गरेको अभियोगमा जिल्ला न्यायाधीश अजयराज उपाध्यायको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

कामको सिलसिलामा घरबाट मंसिर १ गते काठमाण्डु आएका थारूको पुस २५ गते तातोपानी जानेक्रममा जिल्लाको बन्देउमा तामाङसँग भेट भएको थियो ।

तामाङले काम लगाइदिने भन्दै तातोपानीमा बन्दै गरेको सुक्खा बन्दरगाहमा पुर्याएको र अझ राम्रो काममा लगाइदिने भन्दै खासामा पुर्याई एक लाखमा बिक्री गरेको स्वीकारेका छन् ।

थारूको पुस २६ गते बेलुका साढे ९ बजे खासामा हत्या भएको र त्यसको जानकारी पाएपछि मृतककी श्रीमतीले तामाङविरुद्ध माघ १ गते प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सोही दिन सुराकीका आधारमा तामाङलाई हगाम–९ स्थित पेप्टा भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतकको शव खासाबाट तातोपानी झिकाई परिवारजनको जिम्मा लगाइएको छ ।

विदेशी भूमिमा मरेकाले जिल्ला सरकारी वकिलको कार्यालयले ज्यानदाबी गर्न नमिल्ने हुँदा एक लाखमा बिक्री गरेको स्वीकार गरेकाले मानव बेचबिखनविरुद्धको अभियोगमा मुद्दा चलाइएको अदालतका स्रेस्तेदार दशरथ पंगेनीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us