माओवादी मौन बस्दा कमल थापा हिरो !

काठमाण्डु टुडे २०७० माघ २७ गते १३:५७ मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, २७ माघ – व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन भएसँगै संसदीय व्यवस्था अनुसार सत्तापक्ष र प्रतिपक्ष छुट्टिएका छन् ।

संसदीय व्यवस्था अनुसार सरकारमा प्रतिनिधित्व नगर्ने प्रमुख दल नै प्रमुख विपक्षी दल हुने चलन छ र अब नेपालमा पनि एकीकृत माओवादीले यो स्थान लिनेछ । तर सोमबारको संसद बैठकमा तेस्रो ठुलो दल प्रमुख प्रतिपक्षी दल जस्तो देखिएन भने त्यसको स्थान चौथो शक्ति राप्रपा नेपालले लिएको देखियो ।

व्यवस्थापिका संसदको सोमबारको कार्यसूचीमा जम्मा तीन जना नेताले मात्रै बोल्ने कार्यक्रम थियो । जसअनुसार कांग्रेस संसदीय दलका नेता सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारीको प्रस्ताव पेश गर्ने, कांग्रेसकै उपसभापति रामचन्द्र पौडेलले प्रस्ताव गर्ने र एमाले संसदीय दलका नेता केपी ओलीले समर्थन गर्ने कार्यक्रम थियो ।

तर तीनै जना नेताले बोलिसक्ने बित्तिकै उठे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा अनि बोल्न थाले । न उनले सभामुखसँग समय लिए, न त उनले बोल्ने कार्यसूची नै थियो ।

उनले यस अघि उठाउँदै आएका राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा आफ्नो धारणा राखे । थापाले बोल्नु त ठिकै थियो तर उनले सामान्य मर्यादा पनि ख्याल गरेनन् ।

उनले प्रधानमन्त्री सुशील कोइरालालाई सामान्य मर्यादाको पनि पालना नगरी गिज्याए । थापाले कोइरालाले बुझेको नबुझिने भन्दै आफ्ना एजेण्डामाथि प्रष्ट पार्न दुई वक्ता (रामचन्द्र र केपी ओली)लाई नियुक्त गरेको भन्दै कडा व्यंग्य कसे ।

‘सुशीलजी सारभुत कुरा गर्नुहुन्छ । तर कहिलेहाकीं बुझिंदैन । कुरा नबुझे पनि व्यख्या गर्ने सक्ने समर्थक र प्रस्ताव पाउनुभएको छ ।’ थापाले व्यंग्य गरे ।

संसदमा अंक गणितका हिसाबमा प्रमुख विपक्षी र अरु विपक्षी दलहरुको टुंगो लाग्छ । तर आइतबार कमल थापाको चुरीफुरी प्रमुख प्रतिपक्षी दलको नेता भन्दा कम थिएन । लाग्थ्यो, संसदीय व्यवस्था अनुसार छाँया प्रधानमन्त्री उनै हुन् ।

थापा बोलिरहँदा प्रमुख विपक्षी दल एमाओवादीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहितका नेता भने हाँसिरहेका थिए ।

केन्द्रीय समिति तथा आफू नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रि गठनबन्धनले औपचारिक रुपमै कोइरालालाई समर्थन नगर्ने निर्णय गरेपनि माओवादी नेताहरु चुपचाप नै थिए ।

‘आजको बैठकमा उहाँहरु तीनजना भन्दा अरु बोल्ने कार्यसूची नै थिएन,’ एमाओवादी नेता अग्नी सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘त्यसैले हामी चुपचाप बसिरह्यौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us