इन्टरनेटबाटै रगत माग्न सकिने

काठमाण्डु टुडे २०७० माघ २५ गते ६:२५ मा प्रकाशित

internetचितवन,  माघ – नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार केन्द्रका गतिविधिहरु अब इन्टरनेटको माध्यमबाट पनि अध्ययन गर्न सकिने भएको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवनलाई केन्द्रबिन्दु मानेर हरेक गतिविधि सफ्टवेयरमार्फत कम्प्युटरमा राखिने भएकाले यस्तो सुविधा उपलब्ध भएको केन्द्र प्रमुख रमेश पौडेलले जानकारी दिए ।

यो प्रविधिमार्फत हरेक अस्पतालले कम्प्युटरमार्फत नै रगतको माग गर्न सक्नेगरी उक्त सफ्टवेयर निर्माण गर्न थालिएको हो । कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा यस्तो सफ्टवेर निर्माणको काम थालिएको हो ।

रक्त सञ्चारका गतिविधि कम्प्युटरमा राख्दा हरेक जानकारी सर्वसाधारणले पनि लिन सक्ने भएकाले मानिसको अकालमै ज्यान जानबाट समेत जोगिने भएकाले आफूहरुले सहयोग गरेको कोइकाले जनाएको छ ।

सफ्टवेर निर्माणका लागि कोइका, क्षेत्रीय रक्तसञ्चार केन्द्र, चितवन र निर्माण कम्पनी बिआइए नेपालबीच सम्झौतापत्रमा समेत हस्ताक्षर भएको पौडेलले बताए ।

बिआइएमएस नामको सफ्टवेयरमार्फत नेपालको कुन क्षेत्रमा रगतको अभाव छ, कुन क्षेत्रमा रगत बढी सङ्कलन भएको छ, अस्पतालमा रगतको माग कति छ, कसले कति रक्तदान गरेलगायत हरेक जानकारी दिन सकिने सफ्टवेयर निर्माणकर्ता सन्तोष कर्णले बताए ।

अस्पतालमा रगतको अभाव भएमा कम्प्युटरमार्फत नै सम्बन्धित रक्तसञ्चार केन्द्रमा माग गर्न सकिने भएकाले प्रभावकारी हुने नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद न्यौपानेले बताए ।

मोबाइल एप्लिकेसनबाट समेत गतिविधि हेरेर रगतसम्बन्धी हरेक जानकारी लिन सकिने कर्णले जानकारी दिए । हाल चितवनलगायत नेपालका विभिन्न छवटा रक्तसञ्चार केन्द्रलाई सफ्टवेरमा जोडिने र भावी दिनमा नेपालका ८६ वटै केन्द्रलाई यसमा जोड्ने लक्ष्य रहेको उनको भनाई छ ।

चितवनलाई केन्द्रबिन्दु बनाएर तयार हुन लागेको सफ्टवेयर पूर्ण सञ्चालन हुने भने केही महिना लाग्नेछ । केन्द्रीय रक्तसञ्चार केन्द्रकी निर्देशक मनिथाराज कर्णिकारले यो सफ्टवेयर निर्माणपछि रेडक्रस र रक्तसञ्चारसम्बन्धी गतिविधि आमजनताको पहुँचमा पु¥याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

अहिलेसम्म २५ हजार रक्तदाता र सहयोग गर्ने ३०० भन्दा बढी संघसंस्था रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us