रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड

काठमाण्डु टुडे २०८२ जेठ २७ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, २७ जेठ– रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड बनेको छ । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम भएको हो । यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो ।

यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो । यो अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब ०१ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति )संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us