संस्था सम्बन्धनलाई सिटइभिटीको मापदण्ड

काठमाण्डु टुडे २०७० माघ २१ गते ३:२६ मा प्रकाशित

ctevtभक्तपुर, २१ माघ – विगतका वर्षहरुमा हचुवाका भरमा सम्बन्धन दिँदै आएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अब संस्था सम्बन्धन दिनका लागि मापदण्ड निर्माण गर्ने भएको छ ।

विगतका सदस्य सचिवहरुका पालामा कुन स्थानमा कुन विषयको आवश्यकता छ भन्ने मूल्याङ्कनसमेत नगरी पहुँच र आर्थिक लेनदेनका भरमा संस्था सम्बन्धन दिँदै आएको आरोप लागेको सिटिइभिटीले अब भने संस्था सम्बन्धन दिनका लागि आवश्यकताका आधारमा संस्था सम्बन्धन दिन मापदण्ड निर्माण गर्ने भएको हो ।

एउटै जिल्ला वा क्षेत्रमा कुनै विषय आवश्यकताभन्दा बढी र कुनै विषयमा माग भए पनि त्यस्ता विषय अध्ययन गराउने संस्था नभएको पाइएपछि जनसंख्या, भौगोलिक अवस्था र आवश्यकतालाई आधार मानेर संस्थाको सम्बन्धन दिन सिटिइभिटीले नयाँ मापदण्ड निर्माण गर्न लागेको सिटिइभिटीका सदस्य सचिव रामहरि लामिछानेले बताए । विशेषगरी नर्सिङ कलेजको माग अत्यधिक बढेको र एउटै जिल्लामा यस्ता कलेज प्रशस्त भएपछि यसलाई अङ्कुश लगाउन नयाँ मापदण्ड बनाउन लागेको हो ।

सिटिइभिटीको पाँचौं बैठकले मापदण्ड निर्धारण गर्ने निर्णय गरेको छ । निर्णयानुसार एउटै क्षेत्रमा एकै विषयका धेरै संस्था छन् भने त्यस स्थानमा त्यही विषयको संस्था सम्बन्धन नदिने र ती क्षेत्रमा आवश्यकताको पहिचान गर्दै नयाँनयाँ विषयहरु सञ्चालन गर्न माग गर्नेलाई संस्था सम्बन्धन दिइने लामिछानेले बताए ।

प्राविधिक क्षेत्रमा अधिकांश संस्थाहरु निजी रुपमा सञ्चालित रहेकामा अब सिटिइभिटीले निजीलाईभन्दा स्थानीय निकाय, गुठी र समुदायमा आधारित रहेर सम्बन्धन माग गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धन दिइने भएको छ ।

अब कसैको पनि दबाबमा नभइ प्रक्रिया पु¥याएर आएका र सबै मापदण्ड पूरा गरेर सम्बन्धन माग गरेको संस्थालाई त्यस क्षेत्रको आवश्यकता देखेमा मात्र संस्था सञ्चालनका लागि स्वीकृत दिइने सदस्य सचिव लामिछानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us