सगरमाथा सरसफाइको रकममा अनियमितता

काठमाण्डु टुडे २०७० माघ १५ गते ४:०४ मा प्रकाशित

Everest_kalapatthar_cropसोलुखुम्बु, १५ माघ – सगरमाथा आरोही संघ र इको हिमालले संयुक्तरुपमा गरेको सगरमाथा सफाइ अभियानमा खर्च भएको रकमको पारदर्शीताको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ ।

सन् २०११ मा गरिएको सरसफाइ अभियानमा मनोमानी ढङ्गबाट खर्च भएको र पारदर्शी हिसाब नदेखाई अनियमितता गरेको आरोपसहित सगरमाथा आरोही तथा यससँग सरोकारवालाले संयुक्त उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा सरसफाइ अभियान आयोजक संस्था सगरमाथा आरोही संघले जुटाएको रकम र खर्चको स्पष्ट हिसाब नराखेकाले आवश्यक छानबिन गरी कारबाही माग गरिएको छ । उजुरीमा युरोपेली युनियनबाट आठ करोड, स्विडेनको लटरी क्लबबाट तीन करोड, नेपाल सरकारबाट ८० लाख, नेपाल पर्वतारोहण संघबाट २० लाख र अन्य संघसंस्थाबाट एक करोड ५० लाख गरी १३ करोड ५० लाख रुपैयाँ संकलन भएको उल्लेख छ ।

यो रकम आरोही संघका अध्यक्ष वाङचु शेर्पा र महासचिव दिवस पोखरेलले अनियमित ढंगले खर्च गरेको र हिसाब पारदर्शी नबनाएको आरोप छ । सगरमाथा सरसफाइ अभियान सञ्चालन गर्न आर्थिक वर्ष २०६७/६८ मा ७० लाख र २०६८/६९ मा पाँच लाख रुपैयाँ पर्यटन मन्त्रालयले आरोही संघलाई दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्रालयका सहप्रवक्ता केशवप्रसाद विमलीले संघले मन्त्रालयबाट लिएको रकमको सामान्य प्रतिवेदनबाहेक कुनै हिसाब नबुझाएको बताए ।

आरोही संघले विभिन्न संघसंस्थाबाट आएको प्रतिबद्धताको रकमसहित सम्पूर्ण आम्दानी र खर्चको हिसाब पर्यटन मन्त्रालयमा बुझाउन संघ र मन्त्रालयबीच सहमति भएको थियो । लेखापरीक्षण रिपोर्ट मन्त्रालयमा बुझाउनुपर्ने सहमति पालना नभएको मन्त्रालयले जनाएको छ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष जिब्बाजाङबु शेर्पाले आरोही संघले लगेको २० लाख रुपैयाँको सामान्य प्रतिवेदनबाहेक आर्थिक हिसाबकिताब पेस नगरेको जानकारी दिए । संघले हिमालको फोटो, फोहोर तथा अन्य विवरण राखेको प्रतिवेदन मात्रै दिएको उनले बताए ।

सगरमाथा आरोही संघका अध्यक्ष वाङ्चु शेर्पाले भने दुईवर्ष अगाडिको काम भएकाले अहिले यो विषयले कुनै सरोकार नराख्ने बताए । सम्पन्न भइसकेको कार्यक्रमबारे अख्तियारमा उजुरी पर्नु र हिसाब माग्नुले कुनै अर्थ नराख्ने उनको भनाई छ ।

सगरमाथा सरसफाइको नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले सगरमाथाको फोहोरलाई मागिखाने भाँडो बनाइरहेको भन्दै विरोध हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us