सिरहामा अनाथ बालबालिकाको बिचल्ली

काठमाण्डु टुडे २०७० माघ १३ गते ९:५९ मा प्रकाशित

सिरहा, १३ माघ – सिरहाको लहान–४ स्थित सगरमाथा अनाथालय बन्द हुने अवस्थामा पुगेपछि त्यहाँ रहेका बालबालिकाको बिचल्ली भएको छ । अनाथालय सञ्चालक लहान–२ का राजदेव महतोलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेपछि त्यहाँ रहेका बालबालिका बिचल्लीमा परेका हुन् ।

अनाथालयमा विभिन्न ठाउँबाट बेवारिसे अवस्थामा फेला परेका, प्रहरीद्वारा जिम्मा लगाइएकासहित तीनदेखि १४ वर्षसम्मका १० जना अनाथ बालबालिकाले आश्रय लिइरहेका छन् ।

पोषिलो खानेकुरा त परै जाओस्, बिहान बेलुकाको खाना, खाजासमेत पेटभरि खान नपाउँदा बालबालिका कमजोर भएका छन् । अनाथालयको दयनीय अवस्था भएपछि झापाको दमक–१३ की चाँदनी बस्नेतले रु ३० हजारबराबरको चामल, दाल, तरकारी सहयोग गर्नुभएको अनाथालय सञ्चालक समितिकी उपाध्यक्ष मीना सिन्हाले बताईन् ।

अनाथालयलाई लहान नगरपालिकाले एक क्विन्टल दाउरा र एक क्विन्टल चामल उपलब्ध गराएको छ । अनाथालय सञ्चालन गरिएको घरको पछिल्लो एक वर्षदेखिको घरभाडासमेत तिर्न नसक्दा घरधनीले घर खाली गर्न भनेपछि झन समस्यामा परेको उपाध्यक्ष सिन्हाको भनाई छ ।

स्थानीय बेबी एङ्जल आवासीय विद्यालयमा पढिरहेका चारजना अनाथ बालबालिकाको शुल्क नआएको भन्दै विद्यालयले अर्धवार्षिक परीक्षासमेत दिन रोक लगाएको सचिव सावित्रा सुवेदीले जानकारी दिए ।

जन्मजात दुवै हातको कुहिनामुनिको भाग नभए पनि कक्षा ७ मा पढिरहेका १४ वर्षीय सुरेश नेपालले पढेर इञ्जिनियर बन्ने सपना रहेको सुनाउँदै भने, ‘खान बस्न त समस्या छ नै, शुल्क बुझाउन नसकेर विद्यालयले परीक्षा नै दिन रोक लगाएपछि समस्यामा परेका छौँ ।’

अनाथालयका लागि जिल्ला बाल कल्याण समितिबाट दुई लाख र जिल्ला विकास समिति सिरहाले एक लाखबाहेक अन्य कुनै दातृ संस्थाबाट सहयोग नपाएकाले र बालबालिकालाई चन्दा संकलन गरेर खाने खर्च जुटाएको सचिव सुवेदीले बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us