एमालेमा वामदेव निर्णायक

काठमाण्डु टुडे २०७० माघ १३ गते ३:३९ मा प्रकाशित

bamdevकाठमाण्डु, १३ माघ – एमालेको आन्तरिक शक्ति सन्तुलनमा यतिखेर उपाध्यक्ष वामदेव गौतम निर्णायक भूमिकामा देखिएका छन् । तत्काल चयन गर्नुपर्ने संसदीय दलको नेतादेखि आउँदो महाधिवशेनबाट को अध्यक्ष हुने भन्नेबारे निर्णय करिब गौतमको भूमिकाले निर्धारण गर्ने अवस्था छ । नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास पनि जारी छ । प्रयास विफल भए दुवै पक्षको तानातानमा गौतम जुन धारमा उभिन्छन् त्यसैले संसदीय दलको नेतादेखि पार्टीको अध्यक्षसमेत बन्ने अवस्था छ ।

पार्टीभित्र अहिले स्पष्ट रूपमा अध्यक्ष झलनाथ खनाल र माधव नेपालको एउटा समूह बनेको छ भने अर्को समूहमा नेता केपी ओली र महासचिव ईश्वर पोखरेल छन् । गौतम आफैं खनाल-नेपाल समूहसँग निकट सम्बन्ध राख्छन् । तर संसदीय दलको नेतादेखि महाधिवेशनसम्मको समीकरणमा उनलाई ओली समूहले पनि आफूतिर ल्याउन बल गरिरहेको छ ।

‘सभासदको एउटा हिस्सा उहाँको पछाडि छ र आगामी महाधिवेशनमा पनि उल्लेख्य प्रतिनिधि आउने अवस्था छ,’ गौतम निकट एमाले नेता केशवलाल श्रेष्ठले भने, ‘त्यसैले पनि उहाँको भूमिका महत्त्वपूर्ण र निर्णायक बनेको हो ।’ नेताहरूका अनुसार एमाले संसदीय दलमा झन्डै डेढ दर्जन गौतम निकटका सभासद छन् । संसदीय दलभित्र कुन नेतालाई जिताउने वा हराउने भन्नेमा यो संख्या निर्णायक हो । माले पृष्ठभूमिका कारण संगठनमा गौतमको केही पकड छ । एमालेमा एकीकरण भएपछि पनि उनले भ्रातृसंगठन अखिल नेपाल किसान महासंघलाई आफ्नो संगठनात्मक शक्ति विस्तार गर्न प्रयोग गरे । त्यसैले महाधिवेशन प्रनितिनिधि छनोट हुँदा निर्वाचनबाटै माले पृष्ठभूमिका प्रतिनिधि आउने अवस्था रहन्छ । गौतमको यो शक्तिलाई पार्टीका अन्य नेताले पनि बुझेका छन् ।

खनाल-नेपाल र ओली दुवै पक्षले गौतमलाई साथमा लिएर जाँदा आफ्नो समूह बलियो हुने ठानेका छन् । त्यसैले दुवै पक्षले गौतमलाई मनाउन प्याकेज प्रस्ताव गरेका छन् । खनाल-नेपाल पक्षको आफैंसँग बढी निकट रहेकाले तीनवटा पद बाँडफाँड गर्नुपर्ने प्रस्ताव छ । त्यसमा गौतमलाई पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने र अर्को महाधिवेशनसम्म अध्यक्ष बनाउने उल्लेख छ ।

ओली पक्षले पनि पार्टी अध्यक्षका लागि समर्थन गरे तत्काल संसदीय दलको नेता नै गौतमलाई बनाउने प्रस्ताव अघि सारेको छ । व्यक्तिगत रूपमा गौतमका लागि पार्टीको नेतृत्व गर्दै सरकारमा जानेभन्दा संसदीय दलको नेता बन्ने प्रस्ताव बढी आकर्षक छ । यो प्रस्ताव मानेको अवस्थामा पार्टीले सरकारको नेतृत्व गर्न पाउँदा प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुनेछ ।

तर गौतमले लामो समयदेखि खनालसँग सहकार्य गर्दै आएकाले उनका पछाडि लाग्ने समूहले ओलीभन्दा खनाललाई बढी रुचाएको छ । गौतमको वैचारिक निकटता ओलीभन्दा खनालसमूहसँग बढी छ । पार्टीको आठौं महाधिवेशनमा गौतम खनालको पक्ष लागेका थिए र खनालकै प्यानलबाट उपाध्यक्ष जितेका थिए । एमाओवादीलाई हेर्ने दृष्टिकोणलगायत विषयमा लामो समय खनाल र गौतमको समान धारणा रह्यो । अहिले पनि वैचारिक रूपमा उनीहरूबीच तिक्तता आएको छैन । तर यसअघि नै लामो समयसम्म पार्टीको नेतृत्व गर्ने नेताहरूलाई फेरि दोहोर्‍याउन दिने कि नदिने भन्ने प्रश्न पार्टीभित्र उठेका कारण गौतम कुन पक्षमा रहने भन्नेबारे स्पष्ट खुलेका छैनन् ।

गौतमले मुद्दामा आधारित सहमति खोजेर जानुपर्ने प्रस्ताव अघि बढाएका छन् । ‘विचारको आधारमा मुद्दामा सहमति गरेर अघि बढ्नुपर्छ र संसदीय दलदेखि अध्यक्षसम्म सर्वसम्मति हुनुपर्छ भन्ने पहल भइरहेको छ,’ उनी निकट नेता श्रेष्ठले भने ।

पछिल्ला दिनमा गौतमले अध्यक्षदेखि संसदीय दलको नेतासम्मको दाबेदारीसमेत सार्वजनिक गरिसकेका छन् । खनाल, नेपाल र ओलीभन्दा आफू केहीमा कमजोर नरहेको उनले केही दिनअघि बताएका थिए । सँगसँगै उनले यो पनि भनेका थिए कि ‘आन्तरिक शक्ति सन्तुलनमा प्राप्त हुने जिम्मेवारीमा चित्त बुझाउन पनि तयार छु ।’ उनले सन्तुलन मिलाउन यसअघि पार्टीको वरीयतामा ओलीलाई आफूभन्दा माथि ल्याउन तयार भएको पनि दृष्टान्त पनि प्रस्तुत गरेका थिए । गौतम निकटहरूका अनुसार अहिले अध्यक्ष नै बनिहाल्ने एकल शक्ति गौतमको पक्षमा छैन । त्यसैले अध्यक्षबाहेकका अन्य पदमा उनी चित्त बुझाउँछन् ।

– कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us