एमाले संसदीय दलको नेतामा ४ जनाको दावी

काठमाण्डु टुडे २०७० माघ १२ गते ६:३३ मा प्रकाशित

uml officeकाठमाण्डु, १२ माघ–संविधानसभा निर्वाचन भएका दुई महिना पूरा भैसके पनि ठूला पार्टीले संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । अधिकांश दलमा दलको नेतालाई लिएर विवाद छ । दलको विवादबाट दोस्रो ठूलो दल नेकपा एमाले पनि अछुतो छैन ।

एमालेमा संसदीय दलको नेतामा चार जनाले दावी गरेका छन् । अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता केपी ओली र उपाध्यक्षद्वय वामदेव गौतम तथा विद्या भण्डारीले दलको नेतामा दावी गरेका छन् । यसअघि दलको नेताका आकांक्षी माधव नेपाल भने पछि हटेका छन् । २०४८ सालयता पार्टी प्रमुख नै संसदीय दलको नेता हुँदै आएको भन्दै उनले अध्यक्ष खनाललाई समर्थन गरेका छन् । उनी संसदीय दलको नेता सर्वसम्मत चयन हुनुपर्ने पक्षमा छन् ।

एमाले सचिव युवराज ज्ञवालीले भने दलको नेता चयनमा विवाद नभएको जिकीर गरे । ‘हामी सहमतिमा सबै कुरा टुंगो लगाउँछौं, पार्टीमा भैरहेको छलफललाई विवाद भन्न मिल्दैन’ काठमाण्डु टुडेसँग कुरा गर्दै सचिव ज्ञवालीले भने, ‘सहमति नजुटे सबैभन्दा प्रजातान्त्रिक प्रक्रिया भने चुनाव नै हो ।’

सर्वसम्मत संसदीय दलको नेता चयनमा सहमतिको प्रयास भने जारी छ । तर, सहमति नजुटे काँग्रेसमा जस्तै चुनावमार्फत् टुंगो लगाउनु पर्ने अवस्था आउने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us