दलको नेता प्रचण्ड नै : पूर्व पोलिटव्युरो

काठमाण्डु टुडे २०७० माघ १२ गते ६:३४ मा प्रकाशित

prachanda 2काठमाण्डु, १२ माघ–एकीकृत नेकपा माओवादीका पूर्व पोलिटव्युरो सदस्यहरुले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्नुपर्ने बताएका छन् । आइतबार बसेको बैठकमा पूर्व पोलिटव्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई नै दलको नेता बन्न सुझाव दिएका हुन् ।

दलको नेता चयन लगायत विषयमा छलफल गर्न प्रचण्ड निवास लाजिम्पाटमा पूर्व पोलिटव्युरो सदस्यहरुको बैठक बसेको थियो ।

अध्यक्ष प्रचण्डले आफू र डा. बाबुराम भट्टराई बाहिरै बसेर नेता कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने संकेत गरेपछि पूर्वपोलिटब्युरो बैठकहरुले विरोध गरेका हुन् । बैठकमा सहभागी अधिकांश नेताहरुले प्रचण्डलाई नै दलको नेता बन्न सुझाव दिएको एक नेताले जानकारी दिए । ‘शीर्ष नेता नै बाहिर बस्दा संविधान निर्माणमा असर पर्नसक्ने भन्दै विरोध भयो,’ ति नेताले भने, ‘प्रचण्डलाई दलको नेता बन्न सुझाव दियौं ।’

पहिलो संविधानसभामा पनि अध्यक्ष प्रचण्ड नै संसदीय दलको नेता थिए ।

संसदीय दलको नेता महरालाई, उपनेता टोपबहादुर रायमाझीलाई र प्रमुख सचेतक गिरिराजमणि पोख्रेललाई बनाउने गरी एमाओवादी भित्र छलफल चलिरहेको छ । महरा प्रचण्ड निकट, रायमाझी बाबुराम भट्टराई निकट र पोख्रेल नारायणकाजी श्रेष्ठ निकट हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us