पहिरोमा परी घाइते पौडेलको निधन

काठमाण्डु टुडे २०७० माघ १० गते ७:२६ मा प्रकाशित

रसुवा, १० माघ – चिलिमे गाविसमा बिहीबार सुक्खा पहिरोमा परी घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा रामेछाप घर भई काठमाण्डु कपन बस्दै आएका ३७ वर्षीय विमल पौडेल रहेका छन् ।

उनी ठेकेदार कम्पनी बज्रगुरु कन्ष्ट्रक्सनका प्राविधिक कर्मचारी भएको बताइएको छ ।

पहिरोमा परी घाइते भएका अन्य तीन जनाको काठमाण्डुस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा क्रमिकरुपमा सुधार आएको अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेले जानकारी दिए ।

यस्तै पहिरोमा परी बेपत्ता साञ्जेन जल विद्युत् आयोजनाका इन्जिनियर चेरब घिमिरेको पहिरो पन्छाइ खोज्ने कार्य जारी रहेको प्रहरीले बताएको छ ।

निर्माणाधीन साञ्जेन जल विद्युत् आयोजनाको मुहानतर्फ जाने सडकको अन्तिम मूल्यांकनको क्रममा चिलिमे गाविस–४ ब्राप्चे भन्ने स्थानमा सडक माथिबाट पहिरो आई उक्त दुर्घटना भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us