एमाले र एमाओवादी नजिकिदै

काठमाण्डु टुडे २०७० माघ २ गते २:२२ मा प्रकाशित

UML-UCPNMकाठमाण्डु, २ माघ – संविधानसभाको पहिलो बैठक आउनै लाग्दा दुई ठूला वामपन्थी दल एमाले र एमाओवादी नजिकिएका छन्। यसअघि तिक्त सम्बन्ध रहेका दुई दल ताजा जनादेशबमोजिम राष्ट्रपतिको नयाँ चुनाउ गर्नुपर्नेमा मत मिलेपछि निकट भएका हुन्।

एमाले केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ चुनाउ हुनुपर्ने निर्णय गरिसकेको छ। एमाओवादीको बिहीबारदेखि बस्ने केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने निर्णय गर्ने नेता जनार्दन शर्माले बताए। ‘अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमा राष्ट्रपतिको अर्को निर्वाचन भन्ने उल्लेख छ’, उनले भने, ‘नयाँ निर्वाचनपछि जनादेशबमोजिम राष्ट्रपतिको पनि नयाँ चुनाउ हुनुपर्छ, केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्छ।’

अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने शर्माले कसैकसैले सार्वजनिक अभिव्यक्ति दिए पनि एमाओवादीले संविधान नबनेसम्म राष्ट्रपतिको नयाँ चुनाउ आवश्यक नभएको भन्ने निर्णय कहिल्यै नगरेको बताए। ‘संविधानसभामै नजाने कि भन्ने बेलामा त बेग्लै भयो, संविधानसभामा जाने निर्णय भएपछि शक्ति बाँडफाँटको पनि कुरा आउँछ’, उनले भने।

शर्माले एमाओवादी प्रतिपक्षमा बस्ने हुनाले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी नगर्ने पनि बताए। तेस्रो दलको हैसियतमा संविधानसभामा प्रवेश गर्ने एमाओवादीले सभामुख त चाहेको होला नि भन्ने जिज्ञासामा उनले भने, ‘त्यो सहमति त हुनैपर्ला नि, सहमतिमा संविधान जारी गर्नुपर्नेछ।’ एमाले र एमाओवादीमात्र होइन, चाँडै कांग्रेस पनि राष्ट्रपति निर्वाचनमा सहमत हुन बाध्य हुने शर्माले दाबी गरे।

एमाले सचिव युवराज ज्ञवालीले कसैसँग टाढा र नजिकको सम्बन्ध नभएको दाबी गर्दै एमाओवादीसँग निकटता बढेको स्वीकार गरे। ‘कुनै विषय कसैसँग मिल्छन्, कुनै कसैसँग, मुद्दा मिल्नेसँग सहकार्य हुन्छ’, उनले भने, ‘राष्ट्रपति निर्वाचनमा एमाओवादीसँग नजिक भएको हो। अर्को विषयमा अर्को पार्टीसँग मिल्छ।’

अन्तरिम संविधानका मस्यौदाकार एमाओवादी केन्द्रीय सदस्य खिमलाल देवकोटाले राष्ट्रपति र उपराष्ट्रपति चयन, नयाँ सरकार र संविधान निर्माण नै संविधानसभाको मुख्य ‘बिजनेस’ रहेको बताए। राष्ट्रपतिको नयाँ चुनाउ हुनैपर्ने बताउँदै देवकोटाले भने, ‘संविधानसभाको आयु दुई वर्ष छँदा त्यो अवधिका लागि राष्ट्रपति चुनिएका हुन्, संविधानसभाको म्याद थप्ने निर्णय गरे पनि त्यसले राष्ट्रपतिको म्याद थपेको थिएन। राष्ट्रपतिले नैतिकताका आधारमा त्यतिबेलै राजीनामा दिनुपर्थ्यो।’

नयाँ निर्वाचनपछि राष्ट्रपति चुन्ने निकाय संविधानसभा गठन भएकाले राजीनामा गर्नुको साटो पहिलो बैठक आफूले बोलाउनुपर्ने भनी संविधानमै नभएको अधिकार राष्ट्रपतिले खोजेको आरोप देवकोटाले लगाए। उनले भने, ‘राष्ट्रपतिले नछाडे पनि नयाँ राष्ट्रपति चुन्ने काम संविधानसभाको जिम्मेवारी हो। सभा यसबाट पछि हट्न मिल्दैन।’

चुनाउअघिसम्म एमाओवादी नेता राष्ट्रपतिको नयाँ चुनाउ हुनुपर्ने पक्षमा थिए। पार्टी तेस्रो शक्तिमा झरेपछि उनीहरू मौन थिए। वर्षमान पुनलगायत केही नेताले संविधान जारी नभएसम्म राष्ट्रपतिको चुनाउ आवश्यक नभएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए।

एमाओवादी अध्यक्ष दाहालले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबार छलफल गरेपछि एमाओवादी पनि राष्ट्रपतिको चुनाउमा जान सहमत भएको हो। चुनाउअघि एमाओवादी अध्यक्ष दाहालले एमालेको अस्तित्वमै प्रश्न उठाउने ढंगले अभिव्यक्ति दिएका थिए, ‘कि कांग्रेस भन्ने पार्टी छ, कि माओवादी छ, एमाले भन्ने छैन।’

चुनाउपछि एमाओवादी नेता बाबुराम भट्टराई मात्र एमालेभित्र मध्यम नेतृत्वमा धेरै राष्ट्रवादी रहेको अभिव्यक्तिसहित उसप्रति लचिलो देखिएका थिए। दस दिनअघि बबरमहलमा बसेको दुई दलका शीर्ष नेताको बैठकमा दुई दल निकट भएर जाने सैद्धान्तिक सहमति भएको थियो। अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us