‘सीरियाली विपक्षीको समर्थनबारे पुनर्विचार गर्न सकिन्छ’

काठमाण्डु टुडे २०७० पुष ३० गते ३:२१ मा प्रकाशित

काठमाण्डु, ३० पुस–सीरियामा विपक्षीहरुलाई दिईएको समर्थनबारे पुनर्विचार गर्न सक्ने अमेरिका र बेलायतले जनाएका छन् । आगामी हप्ता स्वीट्जरल्याण्डको जेनेभामा तय गरिएको शान्ति वार्तामा सहभागि हुन नमाने उसलाई दिँदै आएको समर्थनमा पुनर्विचार गर्न सकिने अमेरिका र बेलायतले चेतावनी दिएका हुन् ।

सीरियाली विपक्षले जेनेभामा तय गरिएको वार्तामा जान आनाकानी गरिरहेको छ । विपक्षी गठवन्धन भित्रका कतिपय दलहरु वार्ताको लागि तयार छन् भने कतिपयले सीरियाका राष्ट्रपति बशर अल असदको राजीनामालाई वार्ताको पूर्व शर्तका रुपमा अघि सारेका छन् । विपक्षी गठवन्धनले आगामी शुक्रबार वार्तामा बस्ने–नबस्नेबारे गठबन्धन भित्र मतदान गरिने जनाइएको छ । वार्तामा बस्ने नबस्ने मतदानको नतिजामा भर पर्ने विपक्षी गठबन्धनले जनाएको छ ।

सीरिया पछिल्लो तीन वर्षदेखि गृहयुद्धमा फसेको छ । सीरियामा बसर अल असद सरकारलाई रुस, चीन लगायतका देशले समर्थन गरेका छन् भने विपक्षी गठबन्धनलाई अमेरिका, बेलायतलयायतका पश्चिमा मुलुकहरुले समर्थन गरिरहेका छन् । पश्चिमाको समर्थनमा रहेको सीरियाली विपक्ष विभाजित रहेको छ । गठबन्धनमा अलकायदा समर्थकहरुको समेत बाहुल्यता रहेको आरोप लाग्ने गरेको छ ।

जेनेभा–२ नाम दिईएको प्रस्तावित वार्ताबाट सिरियाको संकट समाधानको दिशामा महत्वपूर्ण उपलब्धी हुने आशा गरिएको छ । सिरियाली विपक्षले अमेरिका र बेलायतको समर्थन आफूहरुलाई महत्वपूर्ण भएको भन्दै उनीहरुको ताजा धम्कीले विश्वनियतामाथि प्रश्न उठेको जनाएको छ ।

ईरानलाई समेत जेनेभा बैठकमा सामेल गराउने वा नगराउने भन्ने विषयमा पनि विवाद उत्पन्न भएको छ । रुस भने ईरानलाई सहभागि गराउने पक्षमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us