आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

काठमाण्डु टुडे २०८२ असार १० गते ११:०४ मा प्रकाशित

काठमाण्डू, १० असार– प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८/८३ का लागि सरकारले ल्याएको विनियोजन विधेयक पारित गर्ने मुख्य कार्यसूची रहेको छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२ पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्नेछन् ।

साथै, उनले आर्थिक विधेयक २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ माथि छलफल प्रारम्भ गर्नेसम्बन्धी प्रस्तावसमेत अघि सार्ने कार्यक्रम छ ।

संसद सचिवालयका अनुसार, विधेयकमाथिको छलफल अघि विभिन्न मन्त्रालयहरूको खर्च शीर्षकमाथि उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् । ती मन्त्रालयहरूमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय समावेश छन् ।

यस्तै, बैठकमा केही सांसदहरूले प्रस्तुत गरेका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ पेस गरिनेछन् । ती प्रस्ताव सांसद अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा ९तामाङ०, नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेका हुन् ।

सरकारले बजेटसँग सम्बन्धित विधेयकहरू पारित गराउने तयारी गरिरहेकै बेला विभिन्न शीर्षकमाथिको खर्च कटौतीका प्रस्तावहरू संसदमा बहसको केन्द्र बन्ने सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us