तीन वर्षमा छ वटा चुनाव

काठमाण्डु टुडे २०७० पुष २८ गते ९:४१ मा प्रकाशित

कायरो, २८ पुस– इजिप्टमा सन् २०११ पछि पाँचवटा आम निर्वाचन भइसकेका छन् । फेरि यही मंगलबार त्यहाँ अर्काे जनमत संग्रह हुने भएको छ ।

यो निर्वाचन सन् २०११ मा त्यहाँका पूर्व शासक होसनी मुबारकलाई सत्ताबाट हटाएको तेस्रो वर्षमा भएको तेस्रो आम निर्वाचन भएको पनि बताइएको छ । आगामी मंगलबार र बुधबार इजिप्टमा संविधान लेखनका लागि जनमत संग्रह हुने भएको बताइएको छ । वर्तमान अवस्थामा इजिप्टमा सेनाको सहयोगको सरकार रहेको छ ।

तर यसअघिका राष्ट्रपति मोहम्मद मोर्सीलाई भने सरकारले विस्थापित गरीसकेको छ । उहाँलाई हाल सैनिक हिरासतमा राखिएको छ । जसका कारण इजिप्टमा उहाँको दल मुस्लिम ब्रदरहुड नै निर्वाचनमा नजाने स्पष्ट भइसकेको छ । सो दललाई सरकारले आतङ्ककारी घोषणा गरेको छ ।

होसनी मुबारकलाई हटाएपछि इजिप्टमा पहिलो पटक सन् २०११ को मार्च महिनामा पहिलो जनमत संग्रह भएको थियो । उक्त जनमत संग्रहमा अरब देशकै सबैभन्दा बढी मतदाता करिब ७८ प्रतिशतले मतदानमा सहभागिता जनाएका थिए । उक्त निर्वाचनपछि इजिप्टको संविधानमा आवश्यक संशोधन गर्न सघाउ पुगेको थियो ।

पछि फेरि सेना र सरकारको शक्तिका विषयमा त्यहाँ विवाद उत्पन्न भएको थियो । सो विवादपछि इजिप्टमा पुन अर्काे जनमत संग्रह भएको थियो ।

सन् २०१२ मा त्यहाँ संविधान सभाकै निर्वाचन भयो र सो निर्वाचनबाट लगभग दुई तिहाई मत प्राप्त गरेको मुस्लिम ब्रदरहुड दल र उसको गठबन्धनले सरकार निर्माण गर्यो । उक्त निर्वाचनपछि राष्ट्रपति बनेका मोर्सीका विरुद्धमा देशमा ठूलो आन्दोलान नै सुरुभयो । सो आन्दोलनलाई सम्बोधन गर्न नमानेपछि उहाँलाई हालका सैनिक शासकले अपदस्थ गरेका थिए ।

यसपटकको जनमत संग्रह पनि त्यहाँको संविधानमा संशोधनका लागि हुन लागेको बताइएको छ । सो निर्वाचनमा मोर्सीको दलले सहभागिता नजनाउने बताइएको छ । गत जुलाई महिनामा राष्ट्रपति मोर्सीलाई त्यहाँको सेनाले अपदस्थ गरी थुनामा राखिरहेको छ । थुनामै राखेर उहाँमाथि हत्याको आरोपमा मुद्दा लगाइएको छ ।

यो घटनाको मुस्लिम ब्रदरहुडले विरोध गरिरहेको छ । इजिप्टको एक पुरानो राजनीतिक दल मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंककारी घोषणा गरेको केही दिनपछि नै उक्त दलका नेताहरूलाई पक्राउ सुरु गरेको बताइएको छ । हाल सो दलका सयौँ कार्यकर्ता थुनामा रहेका छन् ।

अमेरिकाले भने इजिप्टमा राजनीतिक स्थिरता प्राप्त गर्ने नाममा नागरिकका मौलिक अधिकारको हनन हुन नदिन सरकार सजग रहनुपर्नेमा जोड दिँदै आएको छ । गत जुलाई महिनामा इजिप्टमा भएको सैनिक हस्तक्षेपपछि इजिप्टमा राजनीतिक अस्थिरता व्यापक मात्रामा बढिरहेको छ ।

संविधान सभामार्फत निर्वाचित मोर्सीलाई उनको कार्यकाल वर्षदिन पनि नपुग्दै सैनिकले जबर्जस्त सत्ताबाट हटाएको थियो । उनलाई हटाउन गरिएको आन्दोलनमा मारिएका प्रदर्शनकारीको हत्याको आरोप हाल उनलाई नै लगाइएको छ ।

आगामी यस जनमत संग्रहले पनि त्यहाँको राजनीतिमा स्थिरता ल्याउनेमा शंका व्यक्त गरिएको समाचारमा जनाइएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us