सोह्र जिल्लामा युवा सूचना केन्द्र

काठमाण्डु टुडे २०७० पुष १४ गते ९:४० मा प्रकाशित

काठमाण्डु – सरकारले युवा वर्गको ज्ञान, सीप र क्षमता विकासमा सघाउने उद्देश्यले राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उपयोगी सूचनाहरू युवा सूचना केन्द्रमार्फत प्रवाह गर्न थालेको  छ ।

‘इन्टरनेट’, लोकसेवा आयोग, सरकारी एवम् गैरसरकारी निकायलगायत विभिन्न माध्यमबाट उपलब्ध हुने युवा उपयोगी सूचना ती केन्द्रबाट प्रभावकारी रुपमा सङ्कलन, व्यवस्थापन एवम् प्रवाह गरी युवालाई उनीहरूको सर्वाङ्गीण विकासमा सघाउन युवा तथा खेलकुद मन्त्रालयले पहिलोचरणमा १६ जिल्लामा केन्द्र स्थापना गरेको छ ।

सूचना, तथ्याङ्क एवम् जानकारीहरू सङ्कलनका साथै तिनलाई अद्यावधिक गर्ने, तिनमा युवाको पहुँच वृद्धि तथा प्रचारप्रसार, युवा सूचना प्रणाली विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, प्रशिक्षण, नागरिकता, राहदानी, नाता प्रमाणित, व्यक्तिगत घटनाजस्ता सरकारी निकायहरूबाट प्रवाह हुने सेवाहरूबारे सरल र सहज ढङ्गले सूचना प्रवाह गरिने छ ।

पहिलोचरणमा पाँचै विकास क्षेत्रलाई समेट्ने गरी झापा, भोजपुर, सोलुखुम्बु, उदयपुर, धनुषा, सिन्धुली, पर्सा, नुवाकोट, काठमाण्डु, नवलपरासी, तनहुँ, बागलुङ, बाँके, जुम्ला, कैलाली र कञ्चनपुरमा सूचना केन्द्र स्थापना गरिएको उक्त मन्त्रालयको तथ्याङ्क तथा सूचना शाखाका प्रमुख रुद्रप्रसाद अधिकारीले बताए ।

मन्त्रालयले १८ जिल्लामा सूचना केन्द्रमार्फत स्थानीय युवा साझेदारी कार्यक्रम र ५७ जिल्लामा जिल्ला विकास समितिबाट उक्त कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी पनि उनले दिए ।

‘युवा वर्गमा आफ्नो मुलुक र समाजप्रति निर्वाह गर्नुपर्ने भूमिकाप्रति सकारात्मक र रचनात्मक सोच विकास गराउनेतर्फ सजग गराउँदै राष्ट्रिय युवा नीति, २०६६ ले निर्देश गरेबमोजिम उनीहरूको क्षमता बढाउन र ग्रामीण क्षेत्रका योजना निर्माण एवम् कार्यान्वयन प्रक्रियमा संलग्न गराई विकास–निर्माणमा युवा सहभागितालाई साझेदारीको माध्यमबाट अभिवृद्धि गर्न सरकारले सूचना केन्द्र र साझेदारी कार्यक्रम ल्याएको हो’, राष्ट्र निर्माणमा युवालाई नेतृत्व तहमा स्थापना गर्ने सरकारी नीतिबारे स्पष्ट गर्दै उनले भने ।

रेस्टलेस डेभलपमेन्ट नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले ती कार्यक्रम कार्यान्वयन गरेको हो । यसअघि युवा सूचना केन्द्रको काम नगन्य रुपमा जिल्ला खेलकुद विकास समितिबाट हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us