न्याय माग्न अदालत गएको भन्दै कुटपिट

काठमाण्डु टुडे २०७० पुष ४ गते ३:२७ मा प्रकाशित

विराटनगर-पतिको यातना सहन नसकेर न्याय खोज्दै अदालत पुगेकी मोरङ कटहरी ६ की पारोदेवी पासवानलाई गाउँलेले पिटेका दिएका छन्। कुटपिटबाट ४० वर्षीया पासवानको शरीरका विभिन्न भागमा निलडाम बसेको छ।

अदालतमा गएर परिवार र गाउँलेको बदनाम गर्न खोजेको भन्दै परिवारका सदस्यकै मञ्जुरीमा गाउँलेले मंगलबार उनलाई चरित्रहीन आरोप लगाउँदै कुटपिट गरी गाउँबाट निकाल्ने घोषणासमेत गरेका थिए। परिवारका सदस्यसमेत उपस्थित भेलामा सहभागी पुरुषहरूले आफूलाई कुटपिट गरेको पासवानले बताइन्। उनका अनुसार ६० जनाभन्दा बढी गाउँलेको भेलामा बल्ली दास, अशोक सहनीसमेत पाँचजना पुरुषले कुटपिट गरेका थिए।

पति समेली सहनीसँग सम्बन्धविच्छेद माग राखेर पासवानले जिल्ला अदालत मोरङमा एक वर्षअघि दायर गरेको मुद्दा विचाराधीन छ। मुद्दा हालेदेखि नै गाउँलेले उनलाई परिवारसँग मिलेर बस्न दबाब दिँदै आएका थिए। साहुसँग लिएको ७० हजार ऋण तिर्न नसक्दा परिवारमा बढेको वैमनस्यको सिकार आफू हुनुपरेको गुनासो उनले गरिन्।

ऋणको विषय र परपुरुषसँग सम्बन्ध राखेको आरोप लगाउँदै पतिले लामो समयदेखि उनलाई यातना दिँदै आएका थिए। चार छोराछोरीकी आमा उनले यातना सहन नसकेपछि आफू एक वर्षदेखि परिवारबाट अलग बस्दै आएको बताइन्।

घटनापछि विराटनगर हाटखोला प्रहरीचौकीमा आएकी पीडित महिलाविरुद्ध बयान दिन गाउँले भेला भएका थिए। कुटपिटमा संलग्न भएको आरोप लागेका बल्लीले चरित्रहीन काम गरेका कारण पासवानलाई गाउँ निकाला गर्न कागत बनाएर तयार पारेको बताएका थिए।

प्रहरीचौकीमा गाउँलेले पीडितलाई बोल्न नदिई उनीविरुद्ध बयान दिइरहेका बेला त्यहाँ पुगेका महिला अधिकारकर्मीले कानुनबारे जानकारी गराएका थिए। मोरङ प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले गाउँलेले महिलालाई गाउँ निकालाका लागि बनाएको भनिएको कागज खोजी गर्ने बताए।

महिला अधिकारकर्मीको पहलमा कुटपिटमा संलग्न आरोप लागेका तीनजनालाई प्रहरीले पक्राउ गरे पनि बुधबार छाडिदिएको छ। एसपी पोखरेलले समस्या पारिवारभित्रको भएको र परिवारबाटै समाधान गर्ने सहमति भएपछि पक्राउ गरिएकालाई छाडिएको जानकारी दिए। पोखरेलका अनुसार घाइते महिलाको कोसी अञ्चल अस्पतालमा उपचार गरिएको छ।

एबीसी नेपालकी अध्यक्ष विष्णु शर्माले बुधबार घटनाबारे जिल्ला प्रहरी कार्यालयमा भएको छलफल र सहमतिपछि ती महिलालाई परिवारका सदस्यको जिम्मा लगाएर पठाइएको बताइन्। पीडित महिलालाई मंगलबार एबीसी नेपालको संरक्षणमा राखिएको थियो। – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us