
काठमाण्डु, ३ पुस– विकिपेडिया अर्थात खुलाविश्वकोषको प्रयोगलाई नेपालीहरूले बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ ।
मिडिया एड्भोकेसी ग्रुप र विकिपेडियन अफ नेपालले बुधबार आयोजना गरेको छलफल कार्यक्रममा नेपाली विकेपेडियाको प्रयोगबारे आवश्यक ज्ञानको कमी नेपालीहरूमा पाइएको जानकारी दिइयो ।
विकिपेडिया जुनसुकै विषयमा लेखिएका सामग्रीको बृहत् शब्द, फोटोहरूको सङ्कलन हो, जसमा जोकोहीले सामग्री सम्पादन गर्न र आवश्यक सामग्रीहरू अपलोड गर्न सक्छन् ।
विकिपेडिया नेपालका प्रबन्धक गणेश पौडेलले नेपाल र नेपालीको बारेमा विश्वमा प्रचारप्रसार गर्न सबै नेपालीले आफूसँग भएका जानकारी विकिपेडियामार्फत सार्वजनिक गर्न सुझाव दिए ।
उनले हाल विश्वमा २८५ भाषामा विकिपेडिया संस्करण सञ्चालन भइरहेको र नेपालको मात्रै नेपाली, नेवारी, भोजपुरी, पाली र संस्कृत गरी पाँच भाषामा विकिपेडिया संस्करण सञ्चालन भइरहेको जानकारी दिए ।
विश्वमा विकिपेडिया लेखनमा र सामग्रीमा २० प्रतिशत महिलाको प्रयोग भइरहेको र नेपालमा पनि सोही अनुपातमै महिलाको प्रयोग भइरहेको उनले बताए ।
मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष बबिता बस्नेतले सञ्चारकर्मीले दिनहुँ गर्ने रिपोर्टिङमध्ये केही आवश्यक सामग्री विकिपेडियामा राख्नसके विश्वभरी नेपालको थप प्रचारप्रसार हुने विश्वास व्यक्त गरे ।