
सर्लाही, ५ मंसिर– सर्लाही–६ का १० उम्मेदवारले नेपाली काँग्रेसले बुथ कब्जा गरेको भन्दै पुन: मतदानको माग गरेका छन्.।
उनीहरुले बुधबार मलंगवामा पत्रकार सम्मेलन गरी ४ मतदान केन्द्रमा पुन: मतदानको माग गरेका हुन् । सर्लाही–६ मा काँग्रेसका अमरेशकुमार सिंह उम्मेदवार छन् । ६ जना उम्मेदवारका तर्फबाट मंगलबार राति नै पुन: निर्वाचन गराउन माग गर्दै उजरी दर्ता गराएका थिए ।
बलराको जब्दी प्रावि, मदरसाको क र ख तथा धनकौलको मनुष्मरा सिंचाई कार्यालय भवन तथा पशुसेवा सेवा केन्द्रको क र ख केन्द्रमा पुन: मतदानको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा तमलोपा अध्यक्षसमेत रहेका क्षेत्र नम्बर–६ का उमेदवार महन्थ ठाकुरले काँग्रेस उमेदवारले बल प्रयोग गरेको आरोप लगाए । उनले सुरक्षाकर्मीकै उपस्थितिमा महिलालाई समेत हातपात गरी बुथ क्याप्चर गरिएको बताए ।
मन्त्रिपरिषद् अध्यक्ष, निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकाय प्रमुखलाई त्यस सम्बन्धमा जानकारी गराए पनि सुनुवाई नभएको उनको भनाइ थियो । उनले काँउमेदवार अमरेश सिंहलाई जिताउन सरकारले पुरा शक्ति लगाएको देखिएको आरोप लगाए ।
बारा–६ मा काँग्रेसका अमरेश सिंह, एमालेका ममतादेवी सिंह, तमलोपाका महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका शिवपुजन राय, सद्भावना पार्टीका फकिरा महतो, तराई मधेस सद्भावना पार्टीका महेन्द्रप्रसाद यादव र राप्रपा नेपालका चन्दन सिंह उम्मेदवार थिए ।
पत्रकार सम्मेलनमा उनीहरुले काँग्रेसले राज्य शक्तिको दुरुपयोग गरी गुण्डागर्दी गरेको आरोप लगाए ।