यस्तो छ चर्चित रुपन्देही –४ मा मतदान

काठमाण्डु टुडे २०७० मंसिर ४ गते ६:३६ मा प्रकाशित

बुटवल, ४ मङ्सिर–संविधानसभा निर्वाचनमा बिहानैदेखि मतदान गर्न रुपन्देहीका सबै क्षेत्रमा मतदाताको उत्साहजनक सहभागिताका देखिएको छ ।
रुपन्देही जिल्लाका ७ निर्वाचन क्षेत्रका २०८ मतदानस्थलका ५४० मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक उपस्थिति रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख तुल्सीराम ज्ञवालीले जानकारी दिए । मतदान  सम्पन्न गर्न जिल्लामा तीन हजार ८०० कर्मचारी र मतदातालाई मतदान कार्यमा सघाउन दुई हजार ७०० स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लामा नेपाल प्रहरी  र  म्यादी प्रहरी झन्डै तीन हजारको सङ्ख्यामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै त्यत्तिकै सङ्ख्यामा सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा व्यवस्थालाई मजबुत बनाएका छन् ।
यस्तै जिल्लाकै निकै चर्चामा रहको रुपन्देही क्षेत्र नं ४ मा एमाले सचिव तथा यस क्षेत्रका उम्मेदवार विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवल नगरपालिका वडा नं १० स्थित डिभिजन सडक कार्यालय बुटवलको मतदान केन्द्रमा बिहान मतदान गरेका छन । मतदानपछि नेता पौडेलले लोकतन्त्रलाई स्थापित गर्ने नयाँ संविधान निर्माणको माध्यम संविधानसभा हो भन्ने बुझेर उत्साहजनक सहभागिता रहेको प्रतिक्रिया दिए ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार सूर्यप्रसाद प्रधानले पनि बिहान बुटवल– ६ स्थित कान्ति उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन । मतदानपछि उम्मेदवार प्रधानले अब संविधान निर्माणको जिम्मेवारी नेपाली जनताले प्रजातान्त्रिक शक्तिलाई दिनेमा आफू विश्वस्त रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us