कोलम्बो, १ मंसिर । श्रीलङ्काका आर्थिक विकासमन्त्री बसिल राजापक्षले श्रीलङ्कामा जातीय द्वन्द्वको अन्त्यमा युद्धअपराध भएको भनी लगाइएको आरोपका विषयमा सरकारले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय छानबिन हुन नदिने शनिबार बताएका छन् ।
उनले अन्तर्राष्ट्रिय छानबिन आवश्यक नभएको र त्यसलाई सरकारले विरोध गर्ने बताए । बसिल राजापक्ष श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापक्षको भाइ हुन् । बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले श्रीलङ्का सरकारले गृहयुद्धको अन्त्यमा भएका मानवअधिकार उल्लङ्घनका विषयमा लगाएका आरोपलाई विश्वसनीय रूपमा सम्बोधन नगरेसम्म संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्मार्फत अन्तर्राष्ट्रिय छानबीनका लागि दबाब दिने बताएपछि मन्त्री बसिल राजापक्षको भनाइ आएको हो ।
राष्ट्रपति राजापक्षको शासनले यस विषयमा सीमित अनुसन्धान गरेको छ र युद्धको अन्त्यमा सरकारी सेनाले कुनै पनि नागरिकलाई मारेको विषयमा निरन्तर रूपमा अस्वीकार गरेको छ । संयुक्त राष्ट्र सङ्घ तथा मानवअधिकारवादी समूहहरूले उक्त युद्धको अन्त्यमा करिब ४० हजार जनताको हत्या भएको आरोप लगाएका छन् ।