भियतनामका महिलालाई काममा थप प्रतिबन्ध

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १३:३८ मा प्रकाशित

हनोई, २९ कात्तिक– भियतनामले त्यहाँका महिलालाई करिब ३८ प्रकारका काममा प्रतिबन्ध लगाएको समाचार छ । शुक्रबार ती प्रतिबन्ध लगाइएका कामहरुका बारेमा जानकारी गराइएको हो ।

त्यहाँको श्रम मन्त्रालयले आगामी डिसेम्बर १५ तारिखदेखि तोकिएका ती काममा महिलालाई प्रतिबन्ध लगाइएको बताइएको छ । ती कामहरुमा र्‍याफ्टिङ र समुद्रमा गरिने जोखिमपूर्ण काम, पचास किलोभन्दा बढीका भारी उचाल्न, घाट र मानवका शव व्यवस्थापन एवम् मृत्यु संस्कारसँग सम्बन्धित काममा उनीहरुलाई प्रतिबन्ध लगाइएको बताइएको छ ।

त्यसैगरी हिमाली तथा पहाडी क्षेत्रमा गर्नुपर्ने जोखिमपूर्ण काम, सवारी चालनसम्बन्धी कुनैपनि कार्य, तेल तथा खानीमा उत्खनन्को काममा पनि महिलालाई कामगर्न प्रतिबन्ध लगाइएको शुक्रबार श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी उनीहरुलाई गर्भवती र सुत्केरी अवस्थाका साथै बच्चा १२ महिनाको नहुँदासम्मका लागि गर्न नहुने ३९ वटा कामहरुको सूची पनि शुक्रबार नै सो मन्त्रालयले तोकेको छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us