
काठमाण्डू, ८ असार– चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट ल्याएको छ । यो गत आर्थिक वर्षको तुलनमा झन्डै १ अर्बले कम हो ।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको १७ औँ नगरसभामा प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ८० करोड जसमा घर जग्गा रजिस्ट्रेसन एवं खानी तथा नदी जन्य पदार्थको राजस्व बाँडफाँटसमेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ सरकारको राजस्व बाँडफाँटबाट ३१ करोड ९१ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख ४१ हजार गरी ४५ करोड ९५ लाख, जनसहभागीता तथा श्रमदानबाट ५ करोड, बैक मौज्दात ७० करोड, सडकबोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरेको छ ।
महानगरले सामाजिक सुरक्षा लगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा १ अर्ब ३५ करोड रहने प्रक्षेपण महानगरको छ । महानगरपालिकाले आर्थिक वर्ष ०८१–८२ का लागि ६ अर्व ५५ करोड ८५ लाख ९८ हजारको ल्याएको थियो । महानगरपालिकाले आर्थिक वर्ष ०८०–८१ मा ६ अर्ब ४८ करोड ७९ लाख ९० हजारको बजेट पेस गरेको थियो ।
संघ राजस्व बाँडफाँटबाट ३२ करोड रहने प्रक्षेपण गरेको छ । महानगरले चालु आवमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनालाई भुक्तानीका लागि ६० करोड, विगत आर्थिक वर्षमा भएका योजनाको दायित्व तथा आर्थिक वर्ष ०८१०–८२ मा बहुवर्षीय ठेक्का प्रणालीबाट भएको योजनाहरूको भुक्तानीका लागि २४ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ । यसैगरी वडालाई न्यूनतम र सूत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ ।
महानगरका विभिन्न स्थानमा सीसी क्यामेरा जडानका लागि ४ करोड, कृषि तथा पशु विकासका लागि ९ करोड, शिक्षा विकासतर्फ १० करोड ५० लाख, नियमित मर्मत सम्भारमा ४ करोड, स्वास्थ्य सेवामा ३ करोड २५ लाख, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ४ करोड, विपद् व्यवस्थापनमा १ करोड ५० लाख, महानगरपालिकाको प्रशासनिक भवन निर्माण तथा इन्टेरियर कामका लागि ४ करोड बजेट विनियोजन गरेको छ ।