साना दललाई कार्यकर्ता र खर्चको खडेरी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ३:१४ मा प्रकाशित

depressionबाँके, २९ कात्तिक–राजनीतिको ‘लत’, अरूको लहैलहै र जितिहाल्छु कि भन्ने झिनो आशा तथा विश्वासका साथ उम्मेदवारी दिएका साना दलका नेताहरु अहिले ‘इन्तु न चिन्तु’ को अवस्थामा पुगेका छन् ।

‘राजनीतिको ‘लत’ लागेकाले निर्वाचनमा त उम्मेदवार भएर उठियो, तर अहिले खर्च जुटाउन नसक्दा खटनपटनमा हम्मेहम्मे परेको छ,’ साना दलका एक उम्मेदवारको भनाइ थियो । बाँके जिल्लामा दर्जनभन्दा बढी साना राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धाको पोखरीमा हामफाले पनि उनीहरुलाई अहिले कार्यकर्ताको खडेरीसमेत परेको छ । साना दलका उम्मेदवारलाई पहिले त आफ्नो पक्षमा कार्यकर्ता पाउनै गाह्रो, पाइहाले पनि खाना खर्च, पेट्रोल खर्च, मोबाइल रिचार्ज खर्च तथा गोजी खर्च कार्यकर्तालाई दिन नसक्दा आफ्नो उम्मेदवारीलाई उनीहरु ‘निल्नु न ओकल्नु’ जस्तै भएको बताउँछन् ।

अहिले आफ्नो निर्वाचन प्रचारका लागि कार्यकर्ता पाउन परेको खडेरी एकातर्फत छँदैछ भने अर्कोतर्फ निर्वाचन कार्यालयले प्रत्येक मतदान बुथमा उम्मेदवारका एक–एकजना प्रतिनिधि राख्नुपर्ने व्यवस्था गरेपछि साना दलका उम्मेदवारलाई झनै चिन्तामा पुर्याएको छ । ‘उम्मेदवारले प्रत्येक बुथमा एक–एकजना प्रतिनिधि राख्न पाउने व्यवस्था गरिए पनि त्यो बाध्यात्मक भने होइन, प्रतिनिधि राख्न नसक्ने उम्मेदवारको पनि भोट गन्ती भने हुन्छ,’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकबहादुर रानाले भने ।

निर्वाचन कार्यालयले कुल चार निर्वाचन क्षेत्र रहेको बाँके जिल्लाको क्षेत्र नं. १ मा ८२, क्षेत्र नं. २ मा ६८, क्षेत्र नं. ३ मा ७१ र क्षेत्र नं. ४ मा ७५ गरी २९६ मतदान केन्द्र निर्धारण गरेको छ । निर्वाचन प्रचारका क्रममा १० जना पनि कार्यकर्ता पछि नलागेका साना दल तथा स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा कसरी मतदान प्रतिनिधि राख्ने हुन्, नेपालगन्जमा अहिले चर्चाको विषयसमेत बनेको छ ।

‘सबै स्थानमा पर्याप्त कार्यकर्ता छैनन्, पार्टीले पनि खर्च दिएको छैन, साना दललाई कसैले चन्दा पनि दिँदैन,’ मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तर्पmबाट क्षेत्र नं. २ मा उम्मेदवारी दिएका अरुणकुमार तिवारीको व्यथा थियो । अर्कोतर्फ साना दलका उम्मेदवारलाई आफ्नो सुरक्षाले पनि पोल्ने गरेको छ । प्रहरी प्रशासनको सुरक्षा ठूला दलका नाम चलेका केन्द्रीय तहका उम्मेदवारमा बढी केन्द्रित भएपछि उनीहरु आफूलाई असुरक्षित भएको ठानिरहेका छन् ।

सुरक्षा र आर्थिक अभावका कारण आफ्नो दल नेकपा संयुक्तका तर्फबाट उम्मेदवारी दिन मनोनयन फाराम भरेर पनि भागीरथी खड्का र भगतराम थापाले उम्मेदवारी दर्ता गराएनन्, सो दलका केन्द्रीय सदस्य मोहनलाल सोनकरको गुनासो थियो । सोनकर भने आफ्नो दलबाट समानुपातिकतर्फका उम्मेदवार हुन् ।

यस जिल्लामा नेपाल परिवार दल, नेपाल सद्भावना पार्टी, राप्रपा, थरूहट तराई पार्टी नेपाल, राष्ट्रिय अभियान पार्टी, नेकपा (संयुक्त), तराई मधेस सद्भावना पार्टी नेपाल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेस राष्ट्रिय अभियान, सङ्घीय सद्भावना, मधेस तराई फोरम तथा विभिन्न साना मधेसवादी दल पनि चुनावी मैदानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस जिल्लामा अस्थायी सात गरी कुल ३०३ मतदान केन्द्र रहने व्यवस्था गरिएको छ । यसपटकको संविधानसभा निर्वाचनका लागि बाँके जिल्लामा दुई लाख नौं हजार १६७ मतदाताको अन्तिम नामावली पनि जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us