म्यानमारमा बैंक नोटलाई नयाँ रुप दिइने

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ७:२७ मा प्रकाशित

याङ्गुन, २८ कात्तिक-म्यानमारको केन्द्रीय बैंकले केही दिनमै नयाँ रुप र रङ्गका नोटहरु प्रचलनमा ल्याउने खुलासा गरेको छ ।
यस्ता नयाँ नोटहरुको अग्रभागमा राष्ट्रिय वीर पुरुष स्वर्गीय आङ्ग सानको चित्र र पृष्ठभागमा सरकारी भवन वा मुलुकको भू–प्राकृतिक दृष्य वा राष्ट्रिय चिह्न वा प्रतीकको चिह्न अङ्कित हुनेछन् ।
म्यानमार केन्द्रीय बैंकका उपगभर्नर दाओ खिन साओ उले मुलुकको संसदलाई उक्त कुराको जानकारी दिएको त्यहाँको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
स्वर्गीय जनरल आङ्ग सान म्यानमारको सशस्त्र सैन्यबलको संस्थापक हुन । सैनिक शासन लागू भएयता म्यानमार (तत्कालीन बर्मा) का बैंक नोटहरुबाट उनको चित्र हटाइएको थियो ।
बेलायती साम्राज्यवादबाट मुलुकलाई स्वतन्त्रता दिलाउन सञ्चालन गरिएको क्रान्तिमा परी जनरल आङ्ग सान आफ्नो विद्रोह परिषद्का सात जना सदस्य र एक अङ्गरक्षकसहित १९ जुलाई १९४७ का दिन तत्कालीन रङ्गुनस्थित प्रधानमन्त्री कार्यालयभित्रै मारिएका थिए ।
म्यानमारले ४ जनवरी १९४८ मा बेलायती साम्राज्यवादबाट मुक्ति पाएको थियो । मुलुक स्वतन्त्र भएको केही वर्षको खिचातानी पछि सैनिक शासन लागू नहुँदासम्म बैंक नोटहरुमा जनरल आङ्गकै चित्र अङ्कित थिए ।
जनरल आङ्ग सान म्यानमारको प्रमुख प्रतिपक्षी दलकी नेत्री आङ् सान सुकिका पिता हुनुहुन्छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us