केपी–किराँती भिडन्त : को बन्ला झापा ७ को हिरो ?

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:१४ मा प्रकाशित

KP-Oli-&-Gopal-Kiratiकाठमाण्डु, २८ कात्तिक– अन्य क्षेत्रका शीर्ष नेताहरु उठेको निर्वाचन क्षेत्र जस्तै झापा ७ पनि अहिले निक्कै चर्चामा रहेको छ । पहिले त्यही क्षेत्रबाट उठेर एकीकृत नेकपा माओवादीका सामान्य जिल्ला तहका नेता विश्वदीप लिङ्देनसँग हारेका नेकपा एमालेका नेता केपी ओली अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेकाले पनि झापा ७ चर्चामा रहेको हो । ओलीसँग अहिले एमाओवादीका पूर्वाञ्चल क्षेत्रका प्रभावशाली नेता गोपाल किराँती चुनावी प्रतिष्पर्धामा छन् ।

किराँतीले जित्ने आधार

ओली पहिले एमाओवादीका लिङ्देनसँग १ हजार १ सय ४० मत अन्तरले पराजित भएका थिए भने ओलीसँग अहिले प्रतिष्पर्धामा आएका किराँती पहिले सोलुखुम्बुबाट विजयी भएका हुन् । झापा ७ पहिले माओवादीले जितेको क्षेत्रमा एमालेका पराजित उम्मेदवारसँग एमाओवादीका विजयी उम्मेदवार भएका कारण उक्त क्षेत्रमा माओवादीले जित सुनिश्चित देखेको छ । झापा ७ जनजाति, सुकुम्वासी र मजदुर वर्गको बाहुल्यता रहेको क्षेत्र हो । २०४८, ०५१  र ०५६ सालमा एमालेलाई त्यहि वर्गले जिताएको थियो ।

तर अहिले नेकपा एमाले त्यसमा पनि नेता ओली जातीय मुद्दाको खरो विरोधी हुन् भने सुकुम्बासी र मजदुरको बर्गमा एमाले जम्न सकेको छैन । एमाले पृष्ठभूमीका तर जातिय पहिचान भएको राज्य खोज्नेहरुले अहिले संघीय समाजवादी पार्टी गठन गरी चुनावी मैदानमा छन् । ओलीसँग संघीय समाजवादी पार्टीका युवा नेता दिपेनवाला राई भिड्दै छन् । त्यसकारण राईले पनि एमालेकै भोट काट्ने निश्चित छ तर उनी चुनाव जित्ने हैसियत राख्दैनन् ।

गोपाल किराँती माओवादी पंक्तीका त्यस्ता पात्र मानिन्छन्, जो आफ्ना कुरा निर्भिक ढंगले राख्छन् र उनी आफूले सत्य ठानेको तर्कबाट हल्लिन मान्दैनन् । निम्न वर्गिय किसान र मजदुर जस्तो लुकेको मतदाता वर्ग, जसको भावना एमालेले कमै सुन्ने र बुझ्ने गरेको छ,  किराती त्यो वर्गप्रति अझै भर परेका छन् । गत निर्वाचनमा त्यहि वर्गले लिङदेनलाई जिताएको थियो ।

एमाले भित्रको गुटगत राजनीतिले बेला बेलामा ठूलै हलचन लिने गरेको छ । पहिले जस्तो चर्को गुटवन्दी सडकमा नदेखिए पनि अहिले पनि गुटको अन्त्य भइसकेको छैन । कतिपयले ओलीलाई तुच्छ प्रकारको नेता ठान्छन् र त्यस्तै अभिव्यक्ति दिन्छन् । जो केहीलाई मन परे पनि धेरैलाई मन परेको देखिन्न । त्यसकारण पनि झापा ७ मा किराँती हिरो बन्ने सम्भावना बलियो देखिन्छ । तर उनका चुनौती पनि कम छैनन् ।

ओलीले जित्ने आधार

गत संविधान सभा निर्वाचनमा माओवादीका विश्वदीप लिङदेनले ओलीलाई हराएका थिए । झापा ७ को त्यो परिणामले एमालेका सानोतिनो भुँइचालो नै ल्याएको थियो । तीनपटक त्यही क्षेत्रबाट संसदीय निर्वाचन जितेका ओली हार्नु एमालेका लागि कम नोक्सानीको बिषय थिएन । तर ओलीलाई हराएका एमाओबादीका लिङदेन आर्थीक अनियमिततामा मुछिए र अन्तत उनी पार्टीबाटै बाहिरिएर अहिले संघिय समाजवादीमा पुगेका छन् । सार्बजनिक रुपमा कयौं समयदेखि नदेखिएका लिङदेनबारे यसअघि भोट दिएर जिताएका मतदाताले राख्ने जिज्ञासाको केही जवाफ किराँतीले दिनुपरेको छ । ओलीलाई कतिपयले प्रष्ट वक्ताको रुपमा पनि लिन्छन् र उनी गत संविधानसभा चुनावमा पराजित भए पनि पार्टीको केन्द्रमै र कतिपय अवस्थामा त संविधानसभामा पनि उनको भूमिका देखियो । अनि उनी त्यो क्षेत्रका मतदाताका लागि अपरिचित अनुहार होइनन् । त्यसकारण ओली झापा ७ को हिरो बन्ने सम्भावना पनि देखिन्छ ।

७३ हजार २६ मतदाता रहेको झापा ७ मा नेपाली कांग्रेसले सुरेश सुब्बालाई अघि सारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us