इरानले पारमाणविक कार्यक्रममा १७० अर्ब डलर खर्च गरेको इजरायली दाबी

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १६:३३ मा प्रकाशित

जेरुसेलम, २६ कात्तिक–इरानले विवादास्पद पारमाणविक कार्यक्रमका लागि १७० अर्ब अमेरिकी डलर बराबर खर्च गरेको इजरायलले दावी गरेको छ । यसको मुख्य कारण कडा आर्थिक प्रतिबन्ध रहेको इजरायलको सुरक्षा स्रोतहरूले मङ्गलबार दाबी गरेका छन् ।
यसबीच विश्वका शक्ति मुलुक तथा इरानबीच वार्ता हुने, तेहरानले विवादास्पद पारमाणविक कार्यक्रमका केही भाग कटौती गर्ने र शक्ति मुलुकले प्रतिबन्ध खुकुलो बनाउने सहमति हुनसक्ने विषयमा इजरायल तथा अमेरिकाबीच मतभेद चर्किएको समयमा यो तथ्याङ्क आएको हो ।
स्रोतले १७० अर्ब अमेरिकी डलरमध्ये ४० अर्ब अमेरिकी डलर गत २० वर्षमा पारमाणविक संरचना निर्माण तथा सञ्चालनमा खर्च भएको बतायो ।
इरानमा सन् २०१२ मा प्रतिबन्ध लागेपछि यस मुलुकले १३० अर्ब अमेरिकी डलर गुमाएको उक्त स्रोतले उल्लेख गरेको छ । यसै गरी इरानले १० करोड ५० लाख अमेरिकी डलर तेल क्षेत्रमा गुमाएको तथा २५ अर्ब अमेरिकी डलर बैङ्किङ, व्यापार, उद्योग, विकास र लगानीका क्षेत्रले गुमाएको बताइएको छ ।
अमेरिकी राजदूत डान सापिरोले सोमबार अमेरिकाले तेहरानलाई कहिल्यै पनि पारमाणविक हतियार प्राप्त गर्न नदिने बताए ।
जेरुसेलममा उत्तर अमेरिकी यहुदी फेडरेसनका महासभामा सहभागी हुँदै राजदूत सापिरोले प्रतिनिधिहरूलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानलाई पारमाणविक हतियार प्राप्त गर्न कहिल्यै अनुमति नदिने बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us