काँग्रेसले आफूविरुद्ध छुद्र प्रचार गरेको सुप्रभाको गुनासो

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १५:१६ मा प्रकाशित

suprabha_ghimireकाठमाण्डु- काँग्रेस परित्याग गरि काँग्रेसकै उम्मेदवार गगन थापाविरुद्ध उठेकी उम्मेदवार सुप्रभा घिमिरेले काँग्रेसले आफू विरुद्ध काँग्रेसले छुद्र प्रचार गरिरहेको बताएकी छिन् ।

‘दुई चार दिनमै अमेरिका जाने मान्छेलाई किन भोट दिनु हुन्छ ? समानुपातिकमा दिँदादिँदै मात्तिएर बूढीले बागी उम्मेदवारी दिएको जस्ता छुद्र प्रचार काँग्रेसले म विरुद्ध गरिरहेको छ । यस्तो भ्रममा नपर्न म मतदातालाई आग्रह गर्छु’, उनले भनिन् ।

काठमाण्डुमा एक पत्रकार सम्मेलन गरेर नेत्री घिमिरेले आफूलाई काँग्रेसले षडयन्त्रपूर्वक अन्याय गरेको बतइन्् । उनले अहिले पार्टी परित्याग गर्दा पनि काँग्रेसले अनर्गल प्रचार गरेर आफ्नो बदनाम गराउन खोजेको बताएकी हुन् ।

‘जवानीमै अमेरिका जान सक्थें’

नेत्री सुप्रभा घिमिरेले आफू जवानीमा नै अमेरिका जाने हैसियत हुँदाहुँदै अमेरिका नगएको अवस्थामा अहिले बुढेसकालमा जाने कु–प्रचार गर्नुको अर्थ नभएको बताइन् ।

आफू देश छाडेर कतै पनि नजाने र स्वतन्त्र रुपमा राजनीतिमा सहभागी भइ देश र जनताकै सेवामा समर्पित हुने उनले पत्रकारहरमाझ बताइन् । नेत्री घिमिरेले महिला भएर राजनीतिमा बाच्न साह्रै गाह्रो हुने गरेको अनुभव सनाउँदै काँग्रेसमा लागेपछि महिला विभेद सहितको हिंसा भएको पनि बताइन् ।

गगन थापाले पैसा बाँडे

नेत्री घिमिरेले आफ्नो क्षेत्र काठमाण्डु–४ मा काँग्रेस उम्मेदवार गगन थापाले मतदातालाई प्रभावित पार्ने गरी रकम वितरण गरेको समेत बताएकी छिन् ।

उनले भनिन्, ‘काँग्रेसका उम्मेदवार गगन थापाले केही दिन अघि ३ लाख र बुधबार मात्रै ५ लाख रुपैयाँ मतदाताहरुलाई बाँडेका छन् ।’ आफ्नो क्षेत्रका उम्मेदवारहरुले निर्वाचन आयोगको अनुमतिविना सवारी साधन प्रयोग गरेर आचारसंहिता उल्लघन गरे पनि निर्वाचन आयोग मुकदर्शक बनेको उनको आरोप छ ।

‘काँग्रेसको कुनै पनि खेमाले सघाएको छैन’

उनले बाहिर आएजस्तो  आफूलाई काँग्रेसको कुनै पनि खेमाले नसघाएको बताएकी छिन् । आफू एक्लै निर्वाचन अभियानमा रहेको भन्दै एक्लो मान्छे सबै ठाँउमा पुग्न नसक्ने भएकोले मिडियामार्फत नै भोट हाल्न मतदातालाई आग्रह गर्न आफू पत्रकार सम्मेलन गर्न आएको बताए ।

काठमाण्डुमा निकै चासो र चर्चाका साथ हेरिएको क्षेत्र नं ४ मा काँग्रेसका गगन थापाविरुद्ध बागी उम्मेदवारका रुपमा नेत्री घिमिरे उठेकी हुन् । त्यस्तै पूर्व कमाण्डर तथा एमाओवादीका युवा नेता नन्दकिशोर पुन, पासाङ पनि गगन थापाविरुद्ध चुनावी मैदानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us