काठमाण्डु, २२ कात्तिक–मिथिलाञ्चलको महापर्व छठ शुक्रबार काठमाण्डु उपत्यकालगायत तराई क्षेत्रमा श्रद्धापूर्वक मनाइँदैछ । नजिकको जलाशयमा नुहाइ धुवाई गरी शुक्रबार अस्ताउँदो सूर्यलाई विधिपूर्वक पहिलो अर्घ दिइन्छ । शनिवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समाप्त हुन्छ ।
छठ पर्व मनाउन सरकारले शुक्रबार सार्बजनिक विदा समेत दिएको छ ।
धनुषाको गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सर, अग्निकुण्डलगायतका पोखरी तथा तलाउमा श्रद्धालुहरु गएरातिदेखि नै हर्षोल्लासका साथ यो पर्व मनाइरहेका छन् । काठमाण्डु उपत्यकाका रानीपोखरी, कमल पोखरी, वागमती, विष्णुमती नदीको किनारमा पनि छठपर्व मनाउनेहरुको भीडभाड छ ।
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ । छठी माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि र दीर्घायू हुने धार्मिक विश्वास छ ।
राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षद्वारा शुभकामना
राष्ट्रपति डा. रामवरण यादवले सूर्य देवता र छठ माताको आराधना गरी मनाइने महान पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना दिएका छन् ।
छठ पर्व २०७० को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति यादवले नेपालका विभिन्न जातजातिका विभिन्न पर्वहरू नै समग्र नेपालको साँस्कृतिक पहिचान बनेका र यस्ता पर्वहरूले विभिन्न जात, धर्म तथा सम्प्रदायबीच आपसी मेलमिलाप र भाइचारा वृद्धि गर्दै धार्मिक सहिष्णुता र सामाजिक एकता मजबुत पार्न सहयोग पुर्याइआएको बताएका छन् । मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्चित रही राष्ट्रिय एकता र अस्मिताको संरक्षण गर्नु हरेक नेपाली नागरिकको परम कर्तव्य हो भन्दै राष्ट्रपतिले यसै सन्दर्भमा राष्ट्रिय पर्वको रूपमा मनाइने छठ पर्व साँस्कृतिकरूपमा नेपालको परिचय बन्न सकोस् भन्ने कामना गरिएको छ ।
यसैगरी, उपराष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पनि छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।