सभापति कोइरालालाई पनि आर्थिक अभाव

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १६:४६ मा प्रकाशित

sushil_koiralaचितवन–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निर्वाचन प्रचारका लागि आर्थिक अभाव भएको छ । कसैमाथि पनि दबाब दिएर अर्थ सङ्कलन नगर्न सभापति कोइरालाले निर्देशन दिएपछि पार्टीको जिल्ला तहले कोही कसैलाई चन्दाका लागि दबाब दिएको छैन ।

चितवनको क्षेत्र नं ४ का उम्मेदवार कोइरालाले चितवन आउनुअघि जिल्ला सभापति टेकप्रसाद गुरुङलाई टेलिफोन गरी ‘के गरौं, पैसा छैन भन्दा गुरुङले आउनुस् यताउति खोजौँला’ भनेको बताए । “नआएर पनि भएन, अहिलेसम्म खर्च जुटाउन सकिएको छैन,” सभापति गुरुङले भने ।

उद्योगी, व्यवसायी, पेसाकर्मीलगायतसँग सहयोग मागिएको भए पनि रकमको जोहो हुन सकेको छैन । स्थानीय राइजिङ डेभलपमेन्ट बैंकमा क्षेत्रीय समितिले अर्थ सङ्कलनका लागि खाता खोले पनि खासै रकम सङ्कलन हुन नसकेको समितिका सदस्य शङ्कर कँडेलले जानकारी दिए ।

आफ्नो निजी चलअचल सम्पत्ति नभएका सभापति कोइरालाले आफूसँग पैसा नहुँदा र आफ्नै लागि खर्च भइरहँदा असजिलो महसुस गर्न थालेका छन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us