बङ्गलादेशमा तीन दिने हड्ताल सुरु,सोमबारको प्रदर्शनमा दुईको ज्यान गयो

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते १३:१३ मा प्रकाशित

ढाका, १८ कात्तिक–बङ्गलादेशमा सोमबारदेखि सरकारका विरुद्धमा देशभर आम हड्ताल सुरु भएको छ । सो हड्तालका क्रममा हिंसा भएको पनि प्रहरीले जनाएको छ ।
प्राप्त समाचारमा सोमबार नै भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीलागि कम्तीमा पनि दुई प्रदर्शनकारीको ज्यान गएको जनाइएको छ ।
सो क्रममा अरुपनि केही घाइते भएका बताइएको छ । सरकारको विरुद्धमा सो हिंसा केन्द्रित रहेको पनि समाचारमा उल्लेख छ ।
बङ्गलादेशका विपक्षीहरुले सोमबारदेखि फेरि अर्काे चरणको हड्तालको आह्वान गरेका हुन् । उनीहरुले सोमबारदेखि तीन दिनसम्म कुनैपनि काम हुन नदिने बताएका छन् ।
गत हप्तामात्र उनीहरुले दुई दिने हड्ताल गरी देशलाई ठप्प पारेका थिए । उनीहरुले वर्तमान सरकारले आगामी सन् २०१४ को आम निर्वाचन गराउन नपाउने बताएका छन् ।
बङ्गलादेशको वर्तमान सरकार गैरराजनीतिक चरित्रको भएको उनीहरुको आरोप छ । यसले आगामी निर्वाचन गर्न नपाउने उनीहरुको माग छ ।
सो हड्तालका कारण बङ्गलादेश विगतका केही समयदेखि ठप्पप्राय भएको छ । विपक्षीहरुले आन्दोनल र हड्ताललाई निरन्तरजस्तो बनाएका छन् ।
गत वर्षदेखि नै बङ्गलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाको विपक्षी दलले सडक आन्दोलन गर्दै आएको छ । उक्त बन्दको कार्यक्रमलाई अन्य विपक्षीहरुले पनि सघाएका छन् ।
बङ्गलादेशको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनल पार्टी (बिएनपी) का कार्यकर्ताहरुले सडकमा ओर्लिएर सम्पूर्ण सेवा बन्द गर्न माग गरिरहेका छन् । उनीहरुसँगको झडपका क्रममा राजधानी ढाकामा नै गोली चलेको थियो ।
त्यहाँको प्रदर्शन प्रायः हिंसात्मक हुने भएकोले यस हड्तालका क्रममा पनि हिंसा मच्चिने आशङ्का गरिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us