के-के हुन्छ एमाओवादीको मेची–महाकाली जागरण अभियानमा ?

काठमाण्डु टुडे २०७० कार्तिक ७ गते ३:१४ मा प्रकाशित

Ucpn-Maoistकाठमाडौँ–एकीकृत नेकपा माओवादीले आगामी संविधानसभा निर्वाचनलाई केन्द्रित गरी मेची–महाकाली राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियान यही कात्तिक २० गते झापाको सदरमुकाम विर्तामोडबाट सुरु हुनेछ भने २६ गते कञ्चनपुरको भीमदत्तनगरमा पुगेर समापन हुनेछ ।

पूर्वपश्चिम राजमार्गलाई आधार बनाएर सञ्चालन हुने अभियानमा सुदूरपूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मका सम्पूर्ण निर्वाचन क्षेत्र समेट्ने गरी ५० भन्दा बढी स्थानमा जनसभा गर्ने कार्यक्रम तय भएको नेता दीनानाथ शर्माले जानकारी दिए । अभियानमा पार्टी अध्यक्ष पुष्कमल दाहाल, वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ लगायत नेता कार्यकर्ता सहभागी हुनेछन् ।

सो क्रममा पूर्वपश्चिम राजमार्गमा मार्चपास, जनर्‍यालीसहितका निर्वाचन प्रचारप्रसारको काम गरिनेछ भने एमाओवादीका शीर्षनेता कुनै होटलमा नभई जनताकै घरमा बास बस्ने योजनासमेत बनाइएको छ । यस्तै पिछडिएका, उत्पीडन परेका र शोषणमा पारिएका जनतासँग प्रत्यक्ष भेटेर उनीहरुका समस्या बुझ्नुका साथै पार्टीलाई महत्वपूर्ण सुझावसमेत लिने कार्यक्रम तय गरिएको छ ।

अभियानका क्रममा एमाओवादीले दावी गर्दै आएको कोचिला राज्यका झापा, मोरङ र सुनसरीका २२ वटै निर्वाचन क्षेत्र समेटेर १० वटा जनसभा गरिने कार्यक्रम तय भएको नेता शर्माको भनाइ छ । जनकपुर, उदयपुर, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन लगायतका जिल्लामा पनि एमाओवादी शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै नवलपरासी, रुपन्देही, कपिलवस्तु, पोखरा, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका जिल्लामा विशेष चुनावी प्रचारको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य एमाओवादीले राखेको छ । गुल्मी, स्याङ्जा, अर्घाखाँची, तनहुँ, पाल्पा, धादिङ, रसुवा, नुवाकोट लगायतका जिल्लामा पनि विशेष अभियान सञ्चालन गर्ने एमाओवादीको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको कार्यक्रममा उल्लेख गरिएको छ । अभियानका क्रममा एक करोडभन्दा बढी जनसमुदायबीच अभियान पु¥याउने र मतदाताका घरघरमा पुगेर निर्वाचनमा सहभागी हुन आग्रह गर्ने कार्यक्रम तय गरिएको छ ।

एमाओवादीको केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा हुन लागेको सो अभियानले निर्वाचनको पक्षमा वातावरण तयार पार्ने विश्वास सो पार्टीको छ । अभियानका क्रममा स्थानीय उम्मेदवार, पार्टी पङ्क्ति, स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us