हस्तमैथुन:आवश्यकता कि विवशता ?

काठमाण्डु टुडे २०७० कार्तिक २ गते ९:२५ मा प्रकाशित

काठमाण्डु–हस्तमैथुन: आवश्यकता कि विवशता,यौन, यौवन, मैथुन र संभोग, यौवनको बगैचाको पहिलो फूल, दाम्पत्य जीवन, श्लील र अश्लील, भोगीको भटभटेमा जोगीको डेरासम्म, प्रतिनिधि कथा, नारी पुरुष सबन्धका रुपहरु, प्रेम र घृणा, चरम आनन्द, यौन विचलन, समलिङ्गी सम्बन्धदेखि यौन शिक्षाका सम्बन्धमा आधारित विषयवस्तु समेटिएको पुस्तक बजारमा आएको छ । यौन चिकित्सक सुबोधकुमार पोखरेलको यौन विज्ञानमा आधारित प्रबन्धको सङ्गालो ‘सृष्टिको रोमान्स’ नामक पुस्तकमा त्यस्ता बिषय समेटिएका छन् । bimochan.jpg 1
यौन मनोविश्लेषणका क्षेत्रमा ख्याती कमाएका चिकित्सक पोखरेलको दोस्रो कृतिका रुपमा प्रकाशित सृष्टिको रोमान्स नामक पुस्तक २३१ पृष्ठको छ । पुस्तकको लोकार्पण गर्दै वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालले यौन शिक्षाका लागि नेपाली बजारमा सृष्टिको रोमान्सले भागवत् गीता जस्तै मूलमन्त्रका रुपमा लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

यौन शिक्षाका बारेमा उत्पन्न हुने सबै खाले जिज्ञासा र कौतुहलतालाई प्रकाशित पुस्तकले शान्त तुल्याउने बताउँदै डा रिजालले यौन शिक्षाको बारेमा कुरा गर्दा मुख लुकाउने र लजाउने समाजलाई यौनका बारेमा जानकारी दिलाउने सिलसिलामा चिकित्सक पोखरेल यौन शिक्षा क्षेत्रमा नक्षत्रका रुपमा स्थापित भएको बताए । डा रिजालले नेपालमा ६७ प्रतिसत मानिसहरुमा यौन सम्बन्धी रोग भए पनि खुलेर कुरा गर्न नसकेको कारणले समस्या बनेको बताए । नयाँ पुस्तकले यस्ता मनोविज्ञानलाई बदल्ने विश्वास पनि उनले व्यक्त गरे । पुस्तकको अध्ययनपछि कसैमा पनि यौन विचलन नआउने डा रिजालको दावी छ । उनले नेपालमा यौन सम्बन्धी पोष्ट ग्राजुएसन मोडिकलको अध्यापन नै सुरु गर्नु पर्ने आवश्यकता औल्याए ।

पुस्तकका सर्जक चिकित्सक पोखरेलले नेपालमा यौन स्वास्थ्यका बारेमा संस्थागतरुपमा जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले सृष्टिको रोमान्स पुस्तक प्रकाशनमा ल्याएको बताए । पुस्तकमा प्रतिनिधि कथासमेत समेटिएको जानकारी उनले दिए । यो पुस्तकको अध्ययनबाट सैद्धान्तिक मात्र होइन, व्यावहारिक ज्ञान बढाउनसमेत मद्दत गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाल इन्स्टिच्युट अफ ह्युमन सेक्सुआलिटीले प्रकाशनमा ल्याएको सो पुस्तकको पैरवी बुक हाउस पुतली सडकले वितरकको जिम्मा पाएको छ । पातलो गाताको रु २७५ तथा बाक्लो गाताको रु ४९५ मूल्य रहेको सो पुस्तकमा ४४ परिच्छेद रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us