भारतमा बृहत् चक्रवात,नयाँ दिल्लीमा भारी वर्षाले जनजीवन प्रभावित

काठमाण्डु टुडे २०७० असोज २५ गते १५:२७ मा प्रकाशित

भुवनेश्वर, २५ असोज-निकै नकारात्मक प्रभाव रहनसक्ने सामुद्रिक चक्रवात भारतको पूर्वी तटीय क्षेत्रतर्फ बढ्न थालेको छ । सेनालाई स्थानीय जनतालाई त्यहाँबाट हटाउन परिचालन गरिएको छ । सन् १९९९ मा यस्तै सामुद्रिक आँधीबाट यहाँका जनता प्रभावित भएका थिए र उनीहरूमा त्यसको स्मरण कायमै छ ।
फाइलिन नामक यो सामुद्रिक आँधी शनिबार साँझसम्म तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा प्रकोप उद्धार संस्थालाई सहयोग गर्न वायुसेना पठाइएको छ । यस आँधीले करिब १० फिटसम्मको सामुद्रिक छाल ल्याउने अनुमान गरिएको छ ।
यस चक्रवातको अधिकतम गति २१० देखि २२० किलोमिटर प्रतिघण्टा रहने अनुमान भारतीय जलवायु विभागले गरेको छ । यस आँधीको क्षति पु¥याउनसक्ने क्षमता निकै उच्च रहेको जानकारी आईएमडीका महानिर्देशक लक्ष्मण सिंह राठोरले एक पत्रकार सम्मेलनमा दिए ।
स्याटलाइट चित्रमा बङ्गालको खाडीमा जम्मा भएको बादलले यो चक्रवातको सिर्जना गरिरहेको देखिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले यस आँधीले करिब १५० किलोमिटरको क्षेत्रमा प्रभाव पार्नसक्ने र त्यो ओडिसा तथा आन्ध्रप्रदेशको क्षेत्र हुनसक्ने अनुमान गरेका छन् ।
ओडिसाको भुवनेश्वरमा वर्षा आरम्भ हुनथालेको छ र निकै कडा हावा चलेको छ । यहाँ सन् १९९९ मा गएको आँधीका कारण आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । हाल यहाँका पसलमा खाद्यसामग्री रित्तिएको छ ।
पहिले सबैभन्दा प्रभावित नगर गोपालपुरबाट दशौँ हजार व्यक्तिलाई अन्यत्र सारिएको छ । फाइलिन पनि यहीँ आउने अनुमान गरिएको छ । ओडिसाका मुख्यमन्त्री नविन पटनायकले सहयोगका लागि प्रतिरक्षा मन्त्रालयलाई पत्र लेखेका थिए । वायु सेनाले दुई आपत्कालीन समूह भुवनेश्वर पठाइएको र विमान तथा हेलिकप्टर सतर्क अवस्थामा राखिएको जानकारी दिएको छ ।
सेना तथा नौसनालाई सहयोगका लागि तयार रहन र राष्ट्रिय प्रकोप उद्धार बललाई सहयोग गर्न निर्देशन दिइएको प्रतिरक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल यो चक्रवात तटीय क्षेत्रबाट करिब ४०० किलोमिटर पर रहेको अनुमान गरिएको छ । हाल यसको शक्ति वृद्धि हुन थालेको छ । यो प्रतिघण्टा १५ किलोमिटरको दरले अगाडि बढिरहेको छ । यो चक्रवातको लम्बाई ४०० देखि ५०० किलोमिटर भएको अनुमान गरिएको छ ।
सन् १९९९ को चक्रवातले विद्युतको लाइन तथा रेलमार्ग नष्ट गरिदिएको थियो तथा उक्त क्षेत्रको बन पूर्णतया नष्ट भएको थियो ।
सन् २००९ मा प्रकाशित एक प्रतिवेदनमा भारतमा दैवी प्रकोपका कारण आठ हजार २४३ व्यक्तिको मृत्युभएको तथा चार लाख ४५ हजार वस्तुभाउ नष्ट भएको उल्लिखित छ ।
भारतीय राजधानी नयाँ दिल्लीमा शुक्रबार बिहानैदेखि सुरु भएको भारी वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
नयाँ दिल्लीमा भारी वर्षाले जनजीवन प्रभावित

नयाँ दिल्लीका सडकहरुमा भारी मात्रामा पानी जमेको तथा यसका कारण यातायात सेवा नै अस्तव्यस्त बनेकोले सरकारी तथा निजी कार्यालय पनि प्रभावित भएका छन् ।
भारतीय अधिकारीहरुले नयाँ दिल्लीमा शुक्रबार बिहान मात्र २६ मिलिमिटर पानी परेको मापन गरेका छन् । तर अहिलेसम्म निरन्तर रुपमा पानी पर्ने क्रम जारी नै रहेकोले पानीको मात्रा निकै बढी भएको बताइएको छ ।
एकजना मौसमविदले भने– भारतमा यस हप्तामा निकै धेरै मात्रामा पानी परिरहेको छ र यो क्रम शुक्रबार अलि बढी भएको छ । देशको राजधानी नयाँ दिल्लीमा अक्टोबर महिनामा भारी वर्षा हुनुलाई अस्वाभाविक मानिन्छ । रासस/सिन्ह्वार/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us