पूर्व लडाकु कमाण्डरको चुनाव जित्ने योजना

काठमाण्डु टुडे २०७० असोज २० गते १५:५० मा प्रकाशित

काठमाण्डु– युद्धकालमा ज्यान हत्केलामा राखेर सशस्त्र संघर्षमा भिडेका माओवादी पूर्वलडाकु कमाण्डरहरु दोस्रो संविधानसभा चुनावको उम्मेदवार बनेका छन् । १० बर्षे युद्धकालमा ‘राज्यसत्ता’ विरुद्ध बन्दूक उठाएका उनीहरु यतिबेला त्यही राज्यसत्ता चलाउने नयाँ संविधान लेखनको प्रकृयामा सहभागी हुदैछन् । उनीहरुलाई नेपाली जनताले देशको संविधान लेख्ने कमाण्डरको रुपमा चुन्लान् कि नचुन्लान् ? शान्तिपूर्ण राजनीतिमा आएपछि संविधानसभा चुनावमा सहभागी हुँदा कस्तो लाग्दै होला उनीहरुलाई ? सर्बत्र जिज्ञासा छ यतिबेला ।

माओवादी जनयुद्धले निर्माण गरेको ‘जनमुक्ति सेना’का कमाण्डर नन्दकिशोर पुन (पासाङ), पूर्वडेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल (बलदेव), पूर्वडिभिजन कमाण्डर महेन्द्र बहादुर शाही (प्रज्वल), पूर्वव्रिगेड कमाण्डर सूर्य पौडेल (सरल सहयात्री), पूर्वव्रिगेड सहकमाण्डर सर्केस घलान लगायत प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।

Nanda-kishor-Pun-Pasangबुलेटबाट ब्यालेटको भूमिका : पासाङ

रोल्पा घर भएका पासाङ काठमाण्डु क्षेत्रनम्बर ४ बाट चुनाव लड्दैछन् । कपन राममन्दिर स्थित एक भाडाको घरमा बस्दै आएका उनी सामाजिक काममा सकृय छन् । जनताका समावेशी प्रतिनिधित्व हुने संविधानसभामार्फत् संविधान लेख्ने अवसर पाउनुलाई उनी १० बर्षे सशस्त्र जनयुद्धकै उपलब्धी मान्छन् । ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधानसभा जस्ता उपलब्धी जनयुद्धबाटै सम्भव भएको हो,’ पासाङ भन्छन्, ‘विगतमा बुलेटको भुमिका निर्वाह गर्यौं अब ब्यालेटको भूमिका निर्वाह गर्न पनि हामी सक्षम छौं ।’ जनयुद्धले नै हालसम्मको राजनीतिक परिवर्तन सम्भव बनाएको उनको भनाइ छ । संशस्त्र संघर्षमा सफल लडाकुहरु राजनीतिमा पनि सफल हुने उनको विश्वास छ ।

पासाङ चुनाव लड्न लागेको काठमाण्डु क्षेत्रनम्बर ४ बाट काँग्रेसका युवा नेता गगन थापा र एमालेका निर्मल कुईंकेलले पनि उम्मेदवारी दिएका छन् । यद्यपी पासाङ र थापाबीच मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । अघिल्लो संविधानसभा चुनावमा काठमाण्डु क्षेत्रनम्बर ४ बाट चुनाव जितेर पनि यसपाली टिकट नपाएकी काँग्रेस नेतृ सुप्रभा घिमिरेले पार्टी परित्याग गरी स्वतन्त्र तर्फ उम्मेदवारी दिएकी छन् । थापा र घिमिरेको भिडन्त हुने भएपछि पासाङलाई फाइदा पुग्ने विश्लेषण गरिएको छ ।

Baldebराजनीतिक उद्देश्य पूरा गर्ने अवसर : बलदेव

चुनाव भिड्न लागेका अर्का पूर्वलडाकु कमाण्डर हुन् चन्द्रपाणी खनाल (बलदेव) । कपिलवस्तु क्षेत्रनम्बर १ बाट उम्मेदवारी दिएका उनी तत्कालीन जनमुक्ति सेना नेपालको डेपुटी कमाण्डर थिए । उनले अघिल्लो संविधानसभा चुनाव जितेका काँग्रेस नेता दीपकुमार उपाध्यायसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सोही क्षेत्रबाट एमालेका बलराम अधिकारीले पनि उम्मेदवारी दिएका छन् । तर, खनाल यसपालीको चुनावको परिणाम एमाओवादीको पक्षमा आउने विश्वास गर्छन् । ‘हाम्रो मुख्य प्रतिस्पर्धी काँग्रेस हो, तर हाम्रो जीत सुनिश्चित छ,’ आशावादी हुदै खनालले भने, ‘हामीसँग नयाँ नेपाल निर्माणका एजेण्डा भएकाले जनताले विश्वास गरेका छन् ।’ कपिलवस्तु अवधीभाषीको बाहुल्यता रहेको जिल्ला हो । राम्रोसँग अवधी भाषा आउने, धेरै सहपाठीहरु शिक्षण पेशामा संलग्न रहेको, अर्घाखाँचीबाट बसाई सरेर कपिलबस्तुमा झरेकाहरुबाट उनलाई चुनावमा ‘प्लसपोइन्ट’ हुने विश्लेषण गरिएको छ । उनी पनि अर्घाखाँचीबाट कपिलवस्तु बसाइ सरेको एक दशकभन्दा बढी भैसेकेको छ ।

रक्सी विरोधी अभियानबाट राजनीतिमा तानिएको बताउने बलदेवले राजनीतिक उद्देश्य अझै पूरा नभएको बताउँछन् । ‘जुन उद्देश्यले राजनीतिमा लागिएको थियो त्यो आंशिक मात्र पूरा भएको छ,’ उनले भने, ‘अब संविधानसभाबाट नयाँ संविधान बनाएर नयाँ नेपाल निर्माणको उद्देश्य पूरा गर्ने जिम्मेवारी हामीमा आएको छ । आर्थिक र सामाजिक परिवर्तन गर्न अझै धेरै बाँकी छ ।’

Saral-Sahayatri 1परम्परागत राजनीति तोड्ने उत्कट चाहना : पौडेल

पूर्वव्रिगेड कमाण्डर सरल सहयात्री पौडेल सिन्धुपाल्चोक क्षेत्रनम्बर १ बाट चुनाव लड्दैछन् । सोही क्षेत्रबाट काँग्रेसका मोहन बस्नेत र एमालेका अरुण नेपालले पनि उम्मेदवारी दिएका छन् । ‘पहिले पनि राजनीतिक लडाईंमै थियौं, अहिले शान्तिप्रकृयामा आइसकेपछि परिस्थिति फेरिएको छ,’ पौडेलले भने, ‘युद्धकालमा पनि जनतासँगै थियौं, अहिले पनि जनतामै छौं ।’

उनले परम्परागत राजनीति तोड्ने उत्कट चाहना व्यक्त गरे । उनकै भाषामा बुढ्यौली राजनीतिले अब नयाँ नेपाल बन्दैन भन्ने पुष्टि भैसकेकोले अब राजनीतिक कार्यभार पूरा गर्न युवाहरु राजनीतिक मूलधारमा आउनैपर्नेछ । ‘अहिलेसम्म नेपालको राजनीति निरन्तरतामा मात्रै चलिरहेको छ । अब क्रमभंग हुनु जरुरी छ । म पनि त्यही भुमिकामा छुँ,’ पौडेलले भने ।

पूर्वडिभिजन कमाण्डर महेन्द्र बहादुर शाही (प्रज्वल) पनि चुनाव लड्दैछन् । उनी कालीकोटबाट चुनाव लड्न लागेका हुन् । एकमात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा काँग्रेसबाट नेबिसंघका नेता भुपेन्द्र जंग शाही र एमालेबाट कर्मराज शाहीले उम्मेदवारी दिएका छन् ।

यसैगरी पूर्वव्रिगेड सहकमाण्डर सर्केस घलान पनि प्रत्यक्ष तर्फको चुनाव लड्दैछन् । उनले मकवानपुर क्षेत्रनम्बर १ बाट मनोनयन दर्ता गराएका छन् । मकवानपुर १ मा काँग्रेसका इन्द्र बहादुर बानियाँ र एमालेका अणुराज जर्घामगरले पनि उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us