सिरियाली युद्धमा एक लाख पन्ध्र हजार भन्दा बढीको मृत्यु

काठमाण्डु टुडे २०७० असोज १५ गते १६:०८ मा प्रकाशित

बेरुत, १५ असोज–सिरियामा ३० महिनासम्म चलेको व्यापक क्षतिपुयाएको युद्धमा हालसम्म एक लाख १५ हजार २०६ व्यक्तिको मृत्यु भएको छ । ती मध्ये प्रायः दुबै पक्षका लडाकू भएको जानकारी सिरियन अब्जरभेटरी फर ह्युमन राइट्ले मङ्गलबार दिएको छ ।
सिरियामा सन् २०११ को मार्च १८ देखि २०१३ को सेप्टेम्बर ३० सम्म यी व्यक्तिको मृत्यु भएको विवरण आफूले राखेको दाबी बेलायतमा केन्द्रीय कार्यालय भएको यस संस्थाले गरेको छ ।
मर्नेमा ४७ हजार २०६ राष्ट्रपति बसार अल–असादको सरकारप्रति बफादार लडाकू भएको तथा २३ हजार ७०७ उहाँलाई अपदस्थ गर्न खोज्ने विद्रोही भएको बताइएको छ ।
सरकारी सैनिकमध्ये मर्नेमा २८ हजार ८०४ नियमित सैनिक भएको तथा १८ हजार २२८ सरकारसमर्थक लडाकू भएको बताइएको छ । १७२ व्यक्ति दमासकस समर्थक सिया आन्दोलन हेजबोल्लाहका सदस्य भएको अब्जरभेटरीले जानकारी दिएको छ ।
विद्रोही पक्षमा मर्ने १७ हजार ७१ हतियार उठाउने नागरिक भएको र दुई हजार १७६ भगौडा सैनिक भएको बताइएको छ । चार हजार ४६० विदेशी वा अज्ञात लडाकू भएको बताइएको छ ।
यस युद्धमा अन्य ४१ हजार ५३३ नागरिकले आफ्नो ज्यान गुमाएको देखिएको छ । त्यसमा छ हजार ८७ बालबालिका तथा चार हजार ७९ महिला भएको अब्जरभेटरीले उल्लेख गरेको छ ।
यस संस्थाले थप दुई हजार ७६० व्यक्तिको शव पहिचान हुन नसकेको जानकारी दिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us