अमेरिकाले याहू र गुगल ह्याक गरेको खुलासा

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ५:२१ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक–अमेरिकाले जासुसीकालागि इन्टरनेट कम्पनि याहू र गुगल ह्याक गर्ने गरेको खुलासा भएको छ । अमेरिकाले याहु र गुगलको नेटवर्क ह्याक गरेर दैनिक लाखौं डाटा निकाल्ने गरेको खुलासा भएको हो ।

अमेरिकी गुप्तचर विभागका पूर्वअधिकारी एडवर्ड स्नोडेनले उपलब्ध गराएको दस्तावेजको आधारमा वाशिङ्टन पोष्टले यो कुराको खुलासा गरेको हो ।

यद्यपी अमेरिकी गुप्तर विभागका निर्देशक जनरल कीथ एलेक्जेन्डरले गुगल र याहूसम्म आफ्नो पहुँच नपुगेको दावी गरेका छन् । ब्लूमबर्ग टेलिभिजनसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामीलाई कुनै अमेरिकी सर्भरसम्म पुगेर त्यसबाट जानकारी निकाल्ने अनुमति छैन ।’ तर उनले यस आरोपको खण्डन भने गरेका छैनन् ।

स्नोडनले गरेको ताजा खुलासाअनुसार मेटा डाटादेखि लिएर टेक्सट, अडियो र भिडियोसम्मका डाटा चोरी हुने गरेको छ । डाटा संकलन गरिसकेपछि गुप्तचर विभागको प्रोग्राम ‘मसक्यूलर’ मा प्रोसेस गरिन्छ । गुप्तचर विभागसँग गुगल र याहूको जानकारी लिन पहिलेदेखि नै एक ‘वैध’ बाटो जासुसी कार्यक्रम ‘प्रिज्म’ थियो ।
स्नोडेन हाल रुसको शरणमा छन् । सरकारका गोप्य सूचना चुहाएको आरोपमा उनलाई सरकारले खोजी गरिरहेको छ ।

यसअघि अमेरिकाले जर्मन चान्सलर एन्जेला मर्केल लगायत करोडौंको टेलिफोन कल रेकर्ड गरेर जासुसी गरेको खुलासा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us