
काठमाण्डु -पछिल्लो समय जेलमा काटिरहेका बलिउड अभिनेता सञ्जय दत्तको जेलबाट लिएको छुट्टी सकिएको छ ।
चार हप्ताका लागि जेलबाट छुट्टी लिएर ‘घर विदा’मा आएका अभिनेता सञ्जय छुट्टी सकेपछि फेरि भारतको पुणेस्थित यरवडा जेल गएका छन् ।
भारतमा भव्य रुपमा मनाइने दिवाली यसपटक उनले पुणेको जेलमै मनाउने भएका छन् । दिवाली अघि नै उनको जेलको छुट्टी सकिएपछि परिवार र आफन्तसँग सञ्जयले दिवाली मनाउन नपाउने भएका हुन् ।
यसअघि सेम्टेम्बरको अन्तिमतिर अस्वस्थताका कारण जेल प्रशासनले दुई हप्ताको छुट्टी दिएको थियो । पछि सञ्जयको आग्रहमा अरु दुई हप्ता छुट्टी थपिएको थियो । जेल फर्कनुअघि उनले पत्रकारहरुमाझ भने, ‘मेरो खुट्टाको समस्या पूर्ण रुपमा निको त भएको छैन तर, पहिलाभन्दा निकै राम्रो भएको छ ।
दिवालीको शुभकामना दिँदै सञ्जयले सबैलाई आफ्नो लागि प्रार्थना गर्न आग्रह गरे । पत्रकारहरुमाझ कुराकानी गरिरहँदा उनीकी श्रीमती पनि साथमै रहेकी बीबीसीले जनाएको छ ।