निर्देशक नीर शाह भन्छन्: ‘म कहिल्यै पनि माओवादी थिइन’

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते १०:१८ मा प्रकाशित

nir shahकाठमाण्डु– एकताका एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका भनिएको नेपाली फिल्म क्षेत्रका वरिष्ठ निर्देशक तथा कलाकार नीर शाह नेपाली काँग्रेसको चुनावी प्रचारमा देखिन थालेका छन् ।

मंगलबार काठमाण्डु निर्वाचन क्षेत्र नं १ मा काँग्रेसको चुनावी घरदैलो कार्यक्रमपछि अनामनगरमा काँग्रेसको प्रचारमा चुनावी भाषणसमेत गरेका निर्देशक शाहले आफू पहिले पनि माओवादी नभएको अहिले पनि माओवादी नभएको प्रष्ट्याएका हुन् । राजेन्द्र खड्गी, युवराज लामा लगायतका कलाकारहरु एमाओवादीमा प्रवेश गरेका बेला शाह पनि एमाओवादी प्रवेश गरेको समाचार आएको थियो ।

nir shah maoistशुभकामना दिन मात्र माओवादी कार्यक्रममा

निर्देशक शाहले काठमाण्डु टुडेसँग कुरा गर्दै भने, ‘युवराजजीहरु माओवादी जानुहुँदा, म उहाँहरुलाई शुभकामना दिन मात्र माओवादीको कार्यक्रममा गएको हुँ । यसैलाई नीर शाह पनि माओवादी प्रवेश गरे भन्ने हल्ला गरियो । म माओवादी प्रवेश गरेकै छैन ।’ साथीहरुलाई एक कलाकारको रुपमा मात्र शुभकामना दिन गएको दावी गर्दै उनले भने, ‘म पहिला पनि माओवादी थिइन, अहिले पनि माओवादी होइन ।’

nir-shaha-congress-prgकाँग्रेस राजतन्त्र मान्ने पार्टी

खुलेर काँग्रेसको प्रचारमा लागिरहेका निर्देशक शाहले हालसालै मात्र आफू नेपाली काँग्रेसमा प्रवेश गरेको बताए । ‘यति नै दिन भयो काँग्रेस प्रवेश गरेको भन्ने त छैन, केही समय भयो’, उनले भने, ‘काँग्रेसले संवैधानिक राजतन्त्रलाई मान्ने हुँदा म काँग्रेस गएको हुँ ।’

आफ्नो विधानबाट राजतन्त्र हटाइसकेपनि काँग्रेस वास्तवमा संवैधानिक राजतन्त्र मान्ने पार्टी भएकाले आफू काँग्रेसमा प्रवेश गरेको उनको तर्क छ । केही दिनमा गहनापोखरीमा हुने काँग्रेसको कार्यक्रममा सहभागी हुने तयारी भइरहेको उनले जनाए ।

राजनीति र कलाकारिता अलग–अलग

हिजोआज कलाकारहरुमा खुब राजनीति लागेको छ नि, कलाकारले राजनीति गर्नुलाई कसरी हेर्नुहुन्छ भनेर सोध्दा निर्देशक शाहले कलाकारले राजनीति गर्न हुने बताए ।

‘कलाकारले राजनीति नै गर्छु वा राजनीति पनि गर्छु भनेर लाग्छ भने कि नहुनु ? तर, कलाकारितामा भने राजनीति आउनु भएन’, निर्देशक शाहले भने, ‘यी दुई फरक भूमिका हुन्, दुबैलाई छुट्टाछुट्टै अभ्यास गरेर गर्ने हो भने हुन्छ, दुबैलाई एकै अभ्यास गरेर चाहिँ हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us