‘दादो दादी हुक्का दे…’

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ९:२५ मा प्रकाशित

Tharu-Film-Festival-at-Jhumka-3दमक, १२ कात्तिक– तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउँदै आएको हुक्काहुक्की खेल र नटुवा नाच देखाउन स्थानीयस्तरमा पहल सुरु भएको छ । तिहारको अवसरमा हर्षोल्लासपूर्वक मनाइने गरेको यस संस्कृति मनाउन पूर्वका आदिवासी समुदायले तयारी थालेका हुन् ।

दादो दादी हुक्का दे…. भन्दै सुन्ठीमा आगो बालेर आकासतिर फाल्ने खेल हुक्काहुक्की विशेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ । दादो दादी भनेर हजुरबुबा हजुरआमालाई सम्झिएको हो । राजवंशी, कोच, ताजपुरिया, ऋषिदेव, माझी समुदायमा त्यस किसिमको सांस्कृतिक कार्यक्रम तथा खेलहरु सामूहिकरुपमा आयोजना गर्ने तयारी अगाडि बढाइएको हो ।

दिवङ्गत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृलाई हामीले तिमीलाई सम्झिएका छौँ हामीलाई आशिर्वाद देउ भनी आशिवार्द माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको राजवंशी समुदायका अगुवा तथा महाभारा गाविसका पूर्व उपाध्यक्ष देवेन्द्रनारायण राजवंशी बताउँछन् ।

जुरोपानीको अरुणोदय प्राविमा आउँदो कात्तिक १७ गते हुक्काहुक्का खेल्ने विकास समितिले स्थानीय कार्यक्रम व्यवस्थापन समिति नै गठन गरेको छ । समितिको उपाध्यक्ष हेमन राजवंशी, सचिव शिवराम राजवंशी र कोषाध्यक्षमा राजकुमारी राजवंशी रहेका छन् । सो समितिले हुक्काहुक्की विशेष समारोहको व्यवस्थापन गरेर हर्षोल्लासपूर्वक परम्परागत खेल खेल्न सहभागी जुटाउन तयारीे भएको राजवंशीले बताए ।

त्यसैगरी महाभारा–४ को बालुबाडी वस्तीमा रहेका कोच तथा राजवंशी समुदायमा पनि तिहारका अवसरमा देखाइने नटुवा नाचका लागि तयारी सुरु भएको छ । स्थानीय कोच समुदायका अगुवा गङ्गाप्रसाद कोचले भने– ‘यस नाचका लागि पोसाक र बाजागाजा जुटाउन तयारी तथा आवश्यक अभ्यास भइरहेको छ ।’ सो नाचमा पौराणिक कथावस्तु, मानव सभ्यता आदि विषय झल्कने उनी बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us