निर्वाचनका लागि जिल्ला-जिल्लामा नाटक

काठमाण्डु टुडे २०७० कार्तिक १० गते ९:२६ मा प्रकाशित

चितवन- देश संविधानसभाको निर्वाचनमय बन्दै जाँदा निर्वाचन शान्तिपूर्ण नहुने हो की भन्ने चिन्ता पर्न थालेको छ । दैनिकजसो भइरहेका उम्मृदवारमाथिको आक्रमण तथा आगजनीका घटनाहरुले सबैलाई सशंकित पारेको हो ।

निर्वाचनलाई सफल पार्नका लागि निर्वाचन आयोगले विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्ने गराउने कार्य पनि गरिरहेको छ । यसै सिलसिलामा रेडियो, टेलिभिजन, पत्रपत्रिका मार्फत संविधानसभाको निर्वाचन सफल पार्न सन्देशहरु प्रशारण तथा प्रकाशन भइरहेका छन् । यस्तै विभिन्न नाट्य समूह तथा संस्थाहरुलाई बजेट उपलब्ध गराई निर्वाचन सम्बन्धी चेताना र सन्देश प्रदान गर्नका लागि निर्वाचन आयोग लागेको छ ।

यसै क्रममा बार्दली कला समूह संविधानसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन नाटक लिएर देश दौडाहामा लागेका छन् । बार्दलीले कचहरी नाटक ‘संविधानसभा निर्वाचनमा अठोट’ लिएर देश दौडने क्रममा चितवन पुगेको छ । रंगमञ्चमा देखिने यी कलाकारहरु संविधानसभा निर्वाचनमा सहभागी हुन सन्देश दिँदै टोलटोल र चोकचोकमा कचहरी नाटक गर्दै हिँडेका हुन् ।

बार्दलीले चितवनको पुल्चोकमा नाटक देखाउँदै चुनावका बेला मात्र नेताका भोट माग्ने क्रियाकलाप, दलले चुनावमा गर्ने कार्य, भ्रष्टाचार, कुरीतिजस्ता विषयलाई नियन्त्रण गर्न आम नागरिकले महत्वपूर्ण भूमिका खेल्नुपर्ने औँल्याइएको थियो । चुनाव हिंसापूर्ण हुन नदिन चुनाव प्रचारका लागि खटिने युवा समूहको अझ महत्वपूर्ण भूमिका हुने भएकाले नेताका गलत क्रियाकलापमा साथ नदिन पनि कलाकारले नाटकबाटै प्रस्ट्याएका थिए ।

देशका अन्य भागमा पनि यो नाटक प्रस्तुत गरेर संविधानसभाको निर्वाचन सफल पार्न आह्वान गर्ने र निर्वाचनमा नागरिक सचेत रहनुपर्नेमा जोड दिँदै सन्देश दिने बार्दलीका कलाकार कमलमणी नेपालले बताए । उनले भने, ‘कलाकारहरुको प्रस्तुति नागरिकमाझ निकै प्रभावकारी बनेको छ, यहशी नाटक हामी विभिन्न जिल्लामा देखाउनेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us