टिकट नपाए पनि चुनावी प्रचारमा भुवन केसी

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते ११:२१ मा प्रकाशित

bhuwan-kc-काठमाण्डु– नेकपा एमालेबाट टिकट खोसिएका नायक भुवन केसी एमालेको चुनावी प्रचारमा खटेर लागेका छन् । नेताहरुको घर दैलो कार्यक्रमदेखि सभा, समारोहमा नायक केसी पुग्ने गरेका छन् र एमालेका लागि भोट माग्ने गरेका छन् ।

उनले शनिबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका लागि जनतासँग भोट मागेका छन् । काठमाण्डु क्षेत्र नं. २ स्थित काँडाघारीमा आयोजित एमाले चुनावी कार्यक्रममा उनले भने, ‘संविधान लेख्न र राष्ट्रको विकासका लागि निर्वाचन अति आवश्यक छ । एमालेले विकास गर्ने हामीमा विश्वास छ त्यसैले माधवकुमार नेपाललाई भोट हाल्न म आग्रह गर्छु ।’

कलाकारितामा ओझेल पर्दै गएका नायक केसीले उम्मेदवारको आकांक्षाका साथ एमाले प्रवेश गरेका थिए । उनलाई काठमाण्डुबाट टिकट दिएको एकैदिन पछि पुनः टिकट खोसिएको थियो । टिकट खोसिएर उम्मेदवार हुनबाट वञ्चित भएपनि आफू एमालेको प्रचार प्रसारमा लाग्ने नायक केसीले बताएका थिए ।

बीचमा राप्रपा नेपाल समेत प्रवेश गर्न खोजेका नायक भुवनलाई टिकट दिने भन्दै एमालेले रोकेको थियो । एमालेका स्थानीय नेताहरुका विरोधका कारण भुवनको सट्टामा अर्को उम्मेदवार उठाइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us