
काठमाडौ, ८ असोज–आगामी असोज १२, १३ र १४ गते सुर्खेतको विरेन्द्रनगरमा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले गर्ने भएका छन ।
प्रतिष्ठानले मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर महाधिवशेनमा राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती र सास्कृतिक झाँकी प्रस्तुत गरिने जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपानेले देश भरीका करिब दुई हजार प्रतिनिधिहरुको वीचमा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको तयारीको लागि स्थानीय स्तरमा टिकाराम चापागाईको संयोजकत्वमा गठित समितिले दु्रत रुपमा कार्य गरिरहेको जानकारी दिए ।
झण्डै ५० लाख रुपैया खर्चको अनुमान गरिएको महाधिवेशनको अवसरममा प्रसिद्ध लोक तथा दोहोरी गीत गायक केशरबहादुर अधिकारीलाई १५ हजार ५ सय ५५ रुपैया र पत्रकार विमल खतिवडालाई पाँच हजार पाँच सय ५५ रुपैया नगद सहित उनीहरुको योगदानको लागि सम्मान गरिने उनले बताए । अध्यक्ष न्यौपानेले यो परम्परलाई भविष्यमा पनि निरन्तरता दिने गरी योजना बनाएको जानकारी दिए । अधिवेशनको हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने सम्झौता भएको जानकारी पनि उनले दिए ।