नेपाली राजनीतिमा विदेशीको चासो बढ्दो

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १:५५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ–संविधानसभा निर्वाचन मिति जति नजिकिँदै छ, त्यति नै विदेशी चासो पनि बढ्दै गएको छ । नेपालको राजनीतिक अस्थिरताले आफ्नो सुरक्षा चिन्ता बढाएको महसुस गर्दै आएका भारत र चीनले मंसिर ४ गतेका लागि घोषित संविधानसभा निर्वाचन हुन सक्ने वा नसक्नेबारेमा नजिकबाट अध्ययन गरिरहेका छन् ।Indian Foreign Secretary

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सीधै काँग्रेस सभापति सुशिल कोइरालालाई भेट गर्न पुगेकी भारतका विदेशसचिव सुजाथा सिंहले एमाले अध्यक्ष झलनाथ खनाल,राष्ट्रपति डा रामवरण यादव,एकीकृत माओवादी अध्यक्ष प्रचण्ड,मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी,परराष्ट्रमन्त्री माधव घिमिरे,परराष्ट्रसचिव अर्जुनबहादुर थापा,प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलगायतसँग भेटवार्ता गरेकी छन् । सिंहको सम्मानमा भारतीय राजदूत रञ्जित रेले द्धारिका होटलमा रात्रिभोज दिएका थिए । मधेशवादी दलका नेता भने  सिंहलाई भेट्न भारतीय दूतावास पुगेका थिए ।

प्रचण्डनिवास लाजिम्पाटमा भएको भेटमा सिंहले मंसिर चार गतेको चुनावको सुनिश्चितताबारे चासो राखेकी थिइन् । चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुको आन्दोलन र उनीहरुलाई सहमितमा ल्याउन भइहेका प्रयासबारे पनि सिंहले चासो राखेकी थिइन् । उनले सबै दललाई समेटेर मंसिर ४ मै चुनाव गराउन सुझाव दिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । संविधानसभा चुनावमार्फत् नेपालमा संविधान जारी होस् र राजनीतिक स्थिरता होस् भन्ने चाहना भारतले राखेको सिंहले प्रचण्डलाई जानकारी गराएकी थिइन् । उनले सबै दललाई सहमतिमा ल्याउन ठूलो दलको हैसियतले पहल गर्न प्रचण्डलाई सुझाव दिदै उनले चुनावकोलागि भारतले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी थिइन् ।जवाफमा अध्यक्ष प्रचण्डले मंसिर चार गते नै चुनाव गराउन आफूले प्रयास गरिरहेको र प्रयास सकारात्मक भएको जानकारी गराएका थिए । प्रचण्डका निजी सचिव चुडामणि खड्काका अनुसार एमाओवादी अध्यक्ष प्रचण्डले सबै ताकत लगाएर मंसिर द्ध मै चुनाव गराउन सरकार र नेपालका राजनीतिक दलहरु रहेको बताएका थिए ।

 

चिनियाँ उच्चस्तरिय प्रतिनिधिमण्डल आउनुअघि भारतले आफनो विदेश सचिवलाई नेपाल पठाएर निर्वाचनमा आफ्नो सहयोगको प्रतिबद्धता दोहोर्याएको छ ।  भारतीय विदेशसचिव सिंहलगायतको भ्रमणलाई मंसिरमा निर्वाचन गराउन नेताहरुलाई दबाब दिन खोजिएको रुपमा अर्थ्याइएको छ ।  

नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेको चीनले पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उच्चस्तरिय प्रतिनिधि मण्डललाई काठमाण्डु पठाउँदैछ । चिनियाँ सन्चारमन्त्री खाइ मिन्च्वो बिहीबार ४ दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् । नेपाली समकक्षी सरकारका प्रवक्ता तथा सन्चारमन्त्री माधव पौडेलको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका मिन्च्वोले प्रमुख दलका शीर्ष नेता र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् । चीन साझा सहमतिमा नेपाली राजनीति अघि बढोस् भन्ने चाहन्छ ।

यस्तै जापानका पूर्वप्रधानमन्त्री यु कियो हातोयामाले १२ बजे र नेपालकालागि म्यानमारका राजदूत युआए काहिमले साँढे ११ बजे अध्यक्ष रेग्मीसँग भेटेका छन। Former PM of Japan Yukio Hatoyama

Ambassdor of Myanmar to Nepal,U Aye Kahing

शितलनिवासमा आइतबारको सर्वदलीय बैठकअघि विदेशी कुटनीतिज्ञको बाक्लो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

उच्चस्तरीय राजनीतिक समिति र सरकार मंसिर ४ गतेका लागि घोषित संविधानसभा निर्वाचन मंसिर महिनाभित्र गर्ने गरी मिति हेरफेर गर्न तयार देखिएका छन् । उच्चस्तरिय राजनीतिक समितिको शनिवार साँझको बैठकले निर्वाचनको मितिमा सामान्य हेरफेर गरे पनि चैतसम्म निर्वाचन सार्न नसकिने निष्कर्ष निकालेको छ ।

निर्वाचन प्रक्रियाप्रति असहमति जनाउँदै आएको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले निर्वाचन चैतमा सार्न औपचारिक रुपमा आग्रह गरिसकेको छ । राष्ट्रपति डा. रामवरण यादवले आइतबार अपरान्हका लागि बोलाएको बैठकमा माओवादी आफ्नो प्रस्तावमा सहमति जुटाउने कसरतमा छ भने उच्चस्तरिय राजनीतिक समितिमा रहेका नेताहरु मंसिर भित्रै उसलाई निर्वाचनमा सहमत गराउन चाहन्छन् । मंसिरमा निर्वाचन गराउन चाहने र चैतमा निर्वाचन गराउन चाहनेहरुबीचको अडानमा छिमेकी मुलुकको स्वार्थ र चासोले नेपाली राजनीतिलाई थप जटिल बनाउन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us