
पर्सा, २१ भदौ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी चुनावपछिको प्रधानमन्त्री आफू नै हुने दावी गरेका छन् । चुनाव परिचालनको जिम्मा आफूले पाएकोले प्रधानमन्त्री पनि आफू नै हुने खनालको दावी छ ।
प्रेस चौतारी पर्साले शुक्रबार वीरगन्जमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष खनालले भने, ‘आगामी संविधानसभा चुनावबाट एमाले सबैभन्दा ठूलो पार्टी बन्छ, चुनावको कमाण्डर पार्टीले मलाई बनाएकोले अबको प्रधानमन्त्री पनि मलाई नै बनाउछ ।’
एमालेले बहुमत ल्याएपछि आफू प्रधानमन्त्री बन्ने र संविधान लेखनको अगुवाई गर्ने खनालले जिकीर गरे । एमालेले अबको चुनावमा प्रत्यक्षतर्फ एक सय भन्दा बढी सिट जित्ने उनले दावी समेत गरेका छन् ।
मंसिर चार गते तोकिएको दोस्रो संविधानसभा चुनाव नसर्ने भन्दै उनले सबै असन्तुष्ट दललाई चुनावमा भाग लिन आग्रह समेत गरे ।